काठमाडौं। मधेश युनाइटेडले आगामी असोजमा हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) का लागि भारतकी सेटर जिनी कोभात साजीलाई अनुबन्ध गरेको छ। मधेशमा भित्रिने उनी तेस्रो विदेशी खेलाडी हुन्।
मधेशले यसअघि नै काजकिस्तानकी आउटसाइड हिटर कालिनोभा यभजेनिया र ट्युनिसियाकी मिडल ब्लकर योस्रो जेरामदिनीलाई अनुबन्ध गरिसकेको छ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपल्ट महिला भलिबलको फ्रेन्चाइज लिग हुन लागेको हो। आगामी असोज १४ देखि १९ गतेसम्म काठमाडौंको दशरथ रंगशालमा कभर्डहलमा हुने लिगमा मधेशले उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्नेछ।
२८ वर्षीय भारतीय सेटर जिनी भारतीय राष्ट्रिय महिला भलिबल टिमकी कप्तान समेत हुन्। केही समयअघि काठमाडौंमै भएको काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जित्दा जिनी त्यस टिमको कप्तान थिइन्। जिनीले भारतबाट एसियन च्याम्पियनसिप, एसियन गेम्स, एभिसी च्यालेन्ज कप, काभा नेसन्स लिग र काभा च्यालेन्ज कप खेलेकी छन्।
जिनीले यसअघि नेपालमा आएर अन्तर्राष्ट्रिय प्रतियोगिताहरू समेत खेलिइसकेकी छन्। जिनीको अनुबन्धपछि मधेशमा खेलाडी संख्या ११ पुगेको छ। नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेशको टिममा अहिलेसम्म आठ नेपाली र तीन विदेशी खेलाडीको नाम सार्वजनिक भइसकेको छ।
मार्की प्लेअर निरुतासहित राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि मधेशमा छन्। यस्तै, काभा यू-२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन्। राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेशबाट खेल्नेछन्। जसना महतो पनि मधेशमा छन्।