काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले भलिबल कभर्डहल निर्माणस्थल छनोट गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ।
अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न सकिने सुविधासम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गाप्राप्ति र आवश्यक तयारीका लागि भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा उपसमिति गठन गरिएको हो।
परिषद्का सदस्यसचिवस्तरीय निर्णयबाट गठन भएको उपसमितिले विभिन्न सरकारी निकाय तथा स्थानीय तहसँग समन्वय गरी उपयुक्त जग्गा छनोट गरी प्राप्तिका लागि प्रारम्भिक चरणको कार्य गर्नेछ। यस्तै, जग्गा एकिन भएपछि २०८१ असोज महिनाभित्र डिपिआरका लागि आधार तयार गर्ने उपसमितिलाई कार्यादेश दिइएको छ। उपसमितिले कार्यादेशअनुसारको काम सम्पन्न गरी ३० दिनभित्र राखेपमा प्रतिवेदन पेस गर्नुपर्ने उल्लेख छ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना तथा अभ्यासका लागि पर्याप्त नभएकोले सुविधासम्पन्न कभर्डहल निर्माण आवश्यक भएको छ। राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउँदै आकर्षण बढाउने उद्देश्यले सुविधासम्पन्न हल निर्माणका लागि पहल थालिएको राखेप सदस्यसचिव टंकलाल घिसिङले जानकारी दिए। उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतमप्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन्।