काठमाडौं। नेपाल भलिबल संघले शनिबार काभा भलिबलमा सहभागी खेलाडी, टिम अफिसयल र प्रशिक्षकलाई नगद पुरस्कारसहित सम्मान गरेको छ।
माल्दिभ्समा सम्पन्न काभा यु-२० भलिबल तेस्रो स्थान हासिल गरेको नेपाली महिला भलिबल खेलाडीहरू, प्रशिक्षक र टिम ब्यवस्थापकलाई समान १५ हजारले सम्मान गरेको हो।
यस्तै, भुटानमा सम्पन्न काभाबिच भलिबलमा महिलातर्फ स्वर्ण पदक विजेता कमला पुन र मनिषा चौधरीलाई जनही ६० हजार तथा प्रशिक्षक उपेष विष्टलाई ४० हजारले सम्मान गरेको छ। रजत पदक जितेका पुरुष टिमका दुई खेलाडी मानबहादुर श्रेष्ठ र दिल बहादुर सुनारलाई नगद ३० हजार पाए।
यस्तै, काठमाडौं सम्पन्न काभा वुमेन्स नेसन्स लिगमा रजतपदक विजेता महिला भलिबल टिमका खेलाडी र प्रशिक्षकलाई जनही एक लाख दुई हजारसहित सम्मान गरिएको थियो भने टिम व्यवस्थापक र फिजियोलाई ८२ हजारले सम्मान गरिएको छ।
काठमाडौंमा सम्पन्न काभा महिला नेसन्स लिगमा नेपाल फाइनल खेलमा भारतसँग ३-२ को सेटमा पराजित हुँदै च्याम्पियन बन्न चुकेको थियो।