काठमाडौं। काभा महिला नेसन्स लिग भलिबलमा रजत पदक विजेता खेलाडीले जनही तीन लाख रुपैयाँ नगद पुरस्कार पाउने भएका छन्।
राष्ट्रिय खेलकुद परिषद्(राखेप) ले उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई तीन लाख रुपैयाँ नगद पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष उक्त सफारिस गरेको छ।
राखेपका कार्यकारी समितिको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि उक्त निर्णय गरेको थियो। राखेप नियमावलीअनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपयाँ पाउनेछन्।
मुख्य प्रशिक्षकले दुई लाख पाउँदा सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार नगद पुरस्कार पाउने भएका छन्। गत साउन १७ देखि २३ गतेसम्म सन्चालन भएको प्रतियोगिताको लिगमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई हराएको थियो। तर, फाइनलमा भने भारतसँग ३–२ ले पराजित भएपछि फेरि नेपाल उपविजेतमा नै सीमित हुन पुग्यो।