काठमाडौं। काठमाडौं महानगरपालिकाले काभा वुमन्स भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही १ लाख रुपैयाँ सहित सम्मान गरेको छ।
प्रतियोगिताको भोलिपल्ट महानगर कार्यालयमा कार्यक्रमको आयोजना गरेर मेयर बालेन शाहले खेलाडी तथा अफिसियललाई नगदसहित सम्मान गरेका हुन्। प्रतियोगिताको फाइनलमा बुधबार नेपालको महिला भलिबल टिम भारतसँग पराजित बनेको थियो।
प्रतियोगिता सम्पन्न भएको भोलिपल्टै महानगरका मेयर बालेन्द्र साहले खेलाडी, अफिसियल र संघका पदाधिकारीलाई बोलाएर सम्मान कार्यक्रमको आयोजना गरेका हुन्। महानगरले खेलाडीलाई जनही एक लाख र अन्य अफिसियललाई जनही ५० हजार रुपैयाँले सम्मान गरेको छ।
सम्मानित हुनेमा खेलाडीहरू अरुणा शाही, निरुता ठगुन्ना, शान्तिकला तामाङ, सरस्वती चौधरी, सुमित्रा रेग्मी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, संगम महतो, सोफिया पुन, आरती सुवेदी, पुनम चन्द, प्रगति नाथ र सालिना श्रेष्ठ रहेकी छन्।
यस्तै सम्मानित हुने अफिसियलमा म्यानेजर निलम बज्राचार्य, प्रशिक्षक जगदीश भट्ट, सहायक प्रशिक्षक भरत यादव र थेरापिष्ट लोकेन्द्र कुँवर छन्।
कार्यक्रममा मेयर साहले पूर्वाधार र खेलाडीको क्षमता विकासमा आफूहरूले आगामी दिनमा काम गर्ने बताएका थिए। उपमेयर सुनिता डंगोलले महिला भलिबल टिममा देखिएको ऊर्जा महत्त्वपूर्ण रहेको बताउँदै पदक प्राविधिक कुरा रहेको बताइन्।
काठमाडौं महानगरका मेयर, उपमेयरले बुधबार कभर्डहलमा महिला भलिबल टिमको फाइनल खेल हेरेका थिए।