काठमाडौं। घरेलु टोली नेपाललाई पराजित गर्दै भारतले काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि जितेको छ। योसँगै लिग चरणमा बेहोरेको हारको बदला लिन भारत सफल भएको छ।
भारतले लिग चरणमा ३-२ को सेटमा हार बेहोरेको थियो। बुधबार उक्त सेटलाई उल्टाउँदै भारतले २-३ को सेटमा जित निकाल्दै बदला पूरा गरेको हो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बुधबार भएको फाइनल खेल नेपालमा पहिलो सेट २५-२३ ले आफ्नो पक्षमा पारेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको उक्त सेटको सुरुआतमै नेपाल ३-० ले पछि परेको थियो। तर, भारतले लगातार चार अंक जोड्दै पुनरागमन गर्यो। यद्यपि, अन्त्यतिर २०-२३ ले पछि परेको अवस्थामा नेपालले लगातार पाँच अंक जोड्दै सेट आफ्नो पक्षमा पारेको थियो।
दोस्रो सेटमा भने नेपालले फितलो प्रदर्शन गर्यो। नेपालले एक समय ५-१० को स्थितिमा थियो। तर, नेपालले थप ६ अंक जोड्दा भारतले भने १४ अंक हासिल गर्यो। यद्यपि, भारतलाई २४ अंकमा रोक्दै नेपालले लगातार चार अंक जोडेको थियो। तर, १० अंकमा पछि परिसकेको अवस्थामा नेपालले पुनरागमन गर्न सकेन र दोस्रो सेट १४-२५ ले गुमायो।
तेस्रो सेटमा चुनौतीको सामना गरे पनि नेपालले सुरुआतदेखि नै अग्रता लिएको थियो । उक्त सेट नेपालले २५-२२ ले आफ्नो पक्षमा पार्यो। चौथो सेटमा केही चुनौती पेस गरे पनि नेपालले २१-२५ ले नतिजा सुम्पियो। पाँचौं तथा अन्तिम सेटमा भने नेपालको प्रदर्शन निकै कमजोर रह्यो। र, ५-१५ ले भारत जित हासिल गर्न सफल बन्यो।