काठमाडौं। इरानलाई पराजित गर्दै आयोजक नेपाल काभा महिला नेसन्स लिगको फाइनल प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार नेपालले इरानलाई ३-० को सोझो सेटमा पराजित गरेको हो।
योसँगै नेपालले उपाधिका लागि भारतसँग खेल्ने भएको छ। मंगलबार नै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै भारत उपाधिनजिक पुगेको थियो। अब नेपालले बुधबार उपाधिका लागि भारतको सामना गर्नेछ। इरानले तेस्रो स्थानका लागि श्रीलंकाको सामना गर्नेछ।
भारतसँग भेट पक्का गर्ने क्रममा नेपालले खेल २५-२१, २८-२६, २५-२० ले आफ्नो पक्षमा पर्यो। पहिलो सेटमा नेपाल १-४ ले पछि परिसकेको थियो। तर, लगातार चार अंक जोड्दै नेपाल खेलमा फर्किएको थियो। त्यसपछि इरानले नेपाललाई रोक्न सकेन। एक पटक १०-८ को स्थितिमा पुगेपनि इरानले लगातार अंक गुमायो र पहिलो सेट २५-२१ ले गुमयाो।
दोस्रो सेट निकै प्रतिस्पर्धात्म बनेको थियो। एक समय नेपालले १५-१० को अग्रता बनाएको थियो। तर, नेपाल लगतार अंक गुमायो। त्यसपछि इरानले १९-१८, २९-१९ हुँदै खेललाई रोचक मोडमा पुर्याएको थियो। त्यसपछि इरानले लगतार अंक जोड्दै खेल २२-२४ मा लगेको थियो। तर, नेपालले दुई सेट बचाउँदै खेल २८-२६ ले आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा पनि नेपाल पुनरागमन गर्न सफल भयो। एक समय नेपाल ११-१४ को स्थितिमा थियो। तर, लगतार अंक जोड्दै नेपाल १३-१४ मा पुग्यो। त्यसपछि १५-१५, १६-१६, १७-१७ र १९-१८ को स्थितिमा खेल पुगेको थियो। यद्यपि, नेपालले लगतार अंक जोड्दै इरानलाई उछिन्यो। इरानले थप दुई अंक जोड्दा नेपाल ६ अंक जोड्न सफल भयो र सेट २५-२० ले आफ्नो पक्षमा पार्यो।
नेपाल दोस्रो र इरान तेस्रो स्थानमा रहँदै अन्तिम चारमा पुगेका थिए। लिगचरणमा नेपालले इरानसँग ३-२ को सेटमा हार बेहोरेको थियो। त्यो बदला लिन नेपाल सफल भएको छ।