काठमाडौं। घरेलु टोली नेपाल काभा वुमन्स नेसन्स भलिबल लिगमा शीर्ष दुईमा रहेर सेमिफाइनल पुगेको छ।
योसँगै नेपालले लिगचरणमा तेस्रो भएको इरानसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। अर्को सेमिफाइनलमा भने भारत र श्रीलंका भिड्ने छन्। भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलंकाले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गर्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार भएको लिगचरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
नेपालले पहिलो सेटमा २५–८ को सहज जित हासिल गरेको थियो। यो सेट १६ मिनेट २५ सेकेन्ड मै सकिएको थियो।
दोस्रो सेटमा भने माल्दिभ्सले नेपालसामु चुनौती पेस गर्यो। यद्यपि, उक्त सेट २५–१९ आफ्नो पक्षमा पार्न नेपाल सफल भयो। तेस्रो सेट पनि नेपालले २५–१८ ले आफ्नो पक्षमा पार्दै तीन अंक जोड्यो।
भारत एक हार र तीन जितसहित १० अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्यो। भारतले इरानलाई ३–१ र माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो। यस्तै, नेपालसँग भने ३–२ को सेटमा पराजित भयो। नेपालले समान खेलबाट आठ अंक जोड्यो। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा निराश पार्यो।
दोस्रो खेलमा उपाधिको दाबेदार भारतमाथि ३–२ को रोमाञ्चक जित हासिल गर्दै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो। तर, आइतबार भएको तेस्रो खेलमा भने नेपालले अपेक्षा गरेअनुसार प्रदर्शन गर्न सकेन र इरानलाई ३–२ ले नतिजा सुम्पियो। इरानले सात अंक जोड्यो भने श्रीलंका चार अंकसहित सेमिफाइनल पुग्यो।