काठमाडौं। नेपाल आर्मी चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा शुक्रबार टिम च्याम्पियन बनेको छ । आर्मी १५ स्वर्ण, ४ रजत र १ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगितामा एपीएफ ३ स्वर्ण, २ रजत र ५ कांस्यसाथ दोस्रो भयो । तेस्रो स्थानको नेपाल प्रहरीले २ स्वर्ण, २ रजत र १ कांस्यसहित तेस्रो भयो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा प्रहरीका भुपेन्द्र थापा तथा महिलामा आरडिएसकी रमिशा श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भए । भुपेन्द्रले मोटरसाइकल तथा रमिशाले स्कुटर पुरस्कार पाए ।
विजेतालाई अर्थ मन्त्री वर्षमान पुन, पूर्व मन्त्री विना थापा मगर, पूर्व मन्त्री दलजीत श्रृपाली, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
पाँचदिने प्रतियोगितामा जिल्ला, क्लब, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी ३१ टिमका १ सय ७५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे ।