काठमाडौं। शीर्ष वरीयताप्राप्त खेलाडीद्वय अरहन्त केशर सिम्हा र स्वस्थानी श्रेष्ठ शुक्रबार प्रथम एनएसआरए प्रेसिडेन्ट कप स्क्वास च्याम्पियन्सिपको फाइनलमा पुगेका छन्।
नेपाल स्क्वास एन्ड राकेट्स संघको आयोजनामा सातदोबाटोस्थित नेपाल स्क्वास र्याकेट्स संघको आफ्नै भवनमा रहेको स्क्वास कोर्टमा भएको पुरुष एकलको सेमिफाइनलमा अरहन्तले पासाङ ब्लोन लामालाई सोझो सेटमा ११–४, ११–४ र ११–१ ले हराए । अरहन्तले फाइनलमा दोस्रो वरीयताप्राप्त अमिर ब्लोनसँग भिड्ने छन् । अमिरले फाइनल पुग्न दिपक थापालाई पाँच सेटमा ११–८, ११–१३, ११–९, १०–१२ र ११–३ ले हराए ।
महिला एकलमा नम्बर एक वरीयताकी स्वस्थानीले अस्मिता नगरकोटीलाई सजिलै ११–२, ११–३ र ११–१ ले हराइन् । अर्को सेमिफाइनलमा दोस्रो वरीयताकी विपना ब्लोनले कृष्णा थापाको चुनौती ११–५, ४–११, ११–४ र ११–५ ले समाप्त गरिन् ।
यसैगरी, मास्टर्स ४५ प्लसको उपाधि भिडन्त राजेन्द्र शाक्य र दिलिप अधिकारीबीच हुनेछ । एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिसकेका राजेन्द्रले सेमिफाइनलमा सुदीप सिंहलाई सीधा सेटमा ११–९, ११–३ र ११–६ ले हराए । अर्को सेमिफाइनलमा दिलिप अधिकारीले जितेन्द्र जोशीलाई ११–७, ११–४ र ११–५ ले पराजित गरे । फाइनल र तेस्रो स्थानका लागि खेल शनिबार हुनेछ ।