काठमाडौं। कार्लोस अल्कारेजले रोल्यान्ड ग्यारोसमा अलेक्जेन्डर जेरेभलाई पाँच सेटमा प्रतिस्पर्धामा पराजित गर्दै फ्रन्च ओपनको उपाधि जितेका छन्।
तेस्रो वरीयताका अल्कारेजले ६–३, २–६, ५–७, ६–१ र ६–२ ले जित हासिल गर्दै पेरिसमा उपाधि चुमेका हुन्। उनको यो तेस्रो ग्रान्डस्लाम उपाधि हो। यसअघि युएस ओपन २०२२ र बिम्बडन २०२३ को फाइनल जितेका थिए। २१ वर्षीय उनी यी तीनै ग्रान्डस्लामा च्याम्पियन बन्ने सबैभन्दा कान्छो खेलाडी हुन्।
घरेलु सहर मुर्सियाको क्ले कोर्टमा टेनिस खेल्दै हुर्किएका अल्कारेजले फ्रेन्च ओपन च्याम्पियन बन्ने सपना बुनेका थिए, जुन अहिले पूरा गरेका छन्। चार घन्टा १९ मिनेट चलेको फाइनल जितेलगत्तै उनले कीर्तिमान १४ पल्टका फ्रेन्च ओपन च्याम्पियन राफेल नडालको शैलीमा खुशियाली मनाए।
‘टेलिभिजनमा प्रतियोगिता हेरेको थिएँ र अहिले उपाधि जितेको छु,’ पेरिसमा च्याम्पियन भएपछि ६ पल्टका विजेता जोन बर्गबाट ट्रफी थापेपछि अल्कारेजले भने।
अल्कारेजविरुद्धको हारपछि चौथो वरीयताका जर्मन खेलाडी जेरेभले पहिलो ग्रान्डस्लाम उपाधिको लागि अझै संघर्ष गर्नुपर्ने भएको छ। उनी युएस ओपन २०२० को उपाधि होडमा डोमिनिक थिमविरुद्ध चुकेका थिए।