काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले टी–२० विश्वकप २०२४ मा नेपाली टिम टेस्ट टिमलाई स्तब्ध पार्न तयार रहेको बताएका छन्। अनपेक्षित नतिजा आईसीसीको एसोसिएट सदस्यमध्ये कुन टिमबाट अपेक्षा गरिएको छ ?
‘पहिला त नेपालबाटै अपेक्षा (अपसेट रिजल्ट) गर्छु,’ एक दशकअघि नेपालले टी–२० विश्वकप २०१४ खेल्दा टिमका महत्त्वपूर्ण सदस्य रहेका मल्लले भने, ‘हामी राम्रो क्रिकेट खेल्छौं भने जुनसुकै टिमलाई स्तब्ध (अपसेट) गर्नसक्छौं। राम्रो खेल्यौं भने नेदरल्यान्ड्सबाहेक पनि अर्को कुनै खेलमा अपसेट (टेस्ट टिमविरुद्ध) रिजल्ट दिन सक्छौ भन्ने लाग्छ।’
हाल नेपाल ए टिमका मुख्य प्रशिक्षक रहेका उनले थपे, ‘बंगलदेशविरुद्ध अमेरिकाले जितेको शृंखलाबाट हामी पनि उत्साहित हुनुपर्छ। एसोसिएटले टेस्ट टिमविरुद्ध शृंखला नै जित्नु सामान्य कुरा होइन। स्कटल्यान्ड माथिल्लो स्तरमा जहिले केही गर्ने, राम्रो खेल्ने टिम हो। नेदरल्यान्ड्सले यसअघि दोस्रो चरणमा खेलिसकेको छ। नामिबिया र युएई पनि अपसेट रिजल्ट ल्याइरहेको छ। हामी एसोसिएट सबैमा अपसेट रिजल्ट ल्याउने क्षमता छ।’
एसोसिएटको स्तरबृद्धि
१७ वर्षअघि सुरु भएको टी–२० विश्वकपमा पहिलोपल्ट २० टिम सहभागी हुदैँछ, जसमा १२ टेस्ट र ८ एसोसिएट छन्। टेस्ट खेल्ने जिम्बाब्बे यसपालि छनोटमै असफल भयो। यसले एसोसिएटको स्तरबृद्धि भइरहेको देखाउँछ।
मल्ल भन्छन्, ‘अहिले ओडिआई (वान डे इन्टरनेसनल) टिमले पनि टेस्ट टिमसँग शृंखला खेलिरहेको छ। त्यसैले एसोसिएट टिमहरू अविश्वसनीय नतिजा दिन सक्ने अवस्थामा छन्, क्षमता राख्छन्। मेरो लागि चाहिँ नेपालले नै अपसेट रिजल्ट ल्याउनुपर्छ भन्ने छ।’
समूह चरणमा नेपालको प्रतिद्वन्द्वीबारे उनी बोले, ‘श्रीलंका वल्र्डकपमा सधैँ राम्रो क्रिकेट पस्किन्छ। साउथ अफ्रिकासँग एकदमै राम्रो राम्रो खेलाडी छ। नेदरल्यान्ड्स एसोसिएटको शीर्ष टिममा आउँछ। बंगलादेशले अमेरिकाविरुद्ध रिजल्ट दिन सकेन तर राम्रो टिम हो। यी चुनौतीलाई हामीले स्वीकार गरेर अगाडि बढ्नुपर्छ। नेपाल टिमको क्षमता र जुन किसिमको ‘ब्रान्ड अफ क्रिकेट’ खेलिरहेको छ, देखिरहेको छ, राम्रो छ। ‘अवशे’ मा अझै धेरै मिहिनेत गर्नुपर्छ। नेपालको ब्रान्ड अफ क्रिकेट वल्र्डकपमा पस्किन सक्यो भने एकदमै राम्रो हुने छ। राम्रो क्रिकेट खेलेर एउटा अपसेट गर्नुपर्छ।’
‘टेस्ट खेल्ने देश बन्नसक्छौं’
नेपालको लागि सन् २००६ देखि २०२३ सम्म अन्तर्राष्ट्रिय क्रिकेट खेलेका मल्लले ओडिआई ३७ र टी–२० आई ३७ खेल खेलेका छन्। एक दशकअघि टी–२० विश्वकपको डेब्यूमा हङकङविरुद्ध ८० रनले जितेको खेलमा सर्वाधिक ४८ रन जोडेका थिए।
घरेलु टिम बंगलादेशविरुद्ध ८ विकेटले हारेको नेपालले अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो। बंगलादेशसमान ४ अंक जोडेको नेपाल नेट रनरेटमा पछाडि परेपछि समूह चरणबाटै बाहिरिएको थियो। त्यसपछि नेपाली टिम स्वदेश फर्कँदा भव्य स्वागत गरिएको थियो भने नेपाली क्रिकेटको विश्वव्यापी चर्चा भएको थियो।
त्यो विश्वकप र अहिलेको अवस्थामा नेपाली क्रिकेटमा देखिएको परिवर्तनबारे उनले भने, ‘हामीले विश्वकप खेलेपछि क्रिकेट नै नहेर्नेले पनि क्रिकेट फलो गर्नुभयो, माया गर्नुभयो। पहिला केही हजारले खेल्थे, अहिले लाखौंले खेल्ने भएको छ। नेपाल एसोसिएट लेवलमै शीर्ष देश बन्ने बाटोमा छ। नेपालले क्रिकेट खेल्छ मात्रै होइन, राम्रो क्रिकेट खेल्छ भन्ने सन्देश पनि दिएको छ। अब यसलाई अगाडि बढाएर हामी अर्को टेस्ट खेल्ने देश बन्नसक्छौं।’
टी-२० विश्वकप २०२० को सन्दर्भमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लसँग गरिएको छोटो वार्ताको लागि :