विराटनगर । राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रिन्स दाहाल र जेशिका गुरुङ च्याम्पियन बनेका छन् ।
सहिद रङ्गशालास्थित कभर्डहलमा शुक्रबार यु–१९ पुरुष एकलतर्फको फाइनलमा प्रिन्सले प्रफुल महर्जनलाई २१-८ र २१-१० ले हराएर उपाधि जितेका हुन् ।
यस्तै यु–१९ महिला एकलतर्फ जेशिकाले रशिला महर्जनलाई २४-२२ र २१-१४ को सेटमा हराएर उपाधि जितिन् ।
मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु-१५ महिलातर्फ रशिला महर्जनले स्मृति राईलाई २१-७ र २१-३ ले हराएर उपाधि जितिन् । यस स्पर्धाको पुरुषतर्फ प्रिन्स दाहालले म्यानमारका ज लिन थुलाई २१-१५, १७-२१ र २१-९ ले हराएर दोहोरो उपाधि जिते ।
यु–१९ महिला युगलतर्फ जेशिका र रशिलाको जोडीले सिमा राजबंशी र निता लम्सालको जोडीलाई २१-१२ र २१-३ ले हराएर उपाधि हात पारे ।
यस स्पर्धाको पुरुषतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडीलाई १९-२१, २१-१७ र २१-१८ ले हराएर शीर्ष स्थान हात पारे ।
सबै स्पर्धामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कार मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् ।