काठमाडौँ। नेपाल टेनिस संघको आयोजनामा एटीएफ यू–१२ टिम च्याम्पियनसिप (दक्षिण एशियाली क्षेत्रीय छनोट)को पहिलो दिन नेपालको ब्वाइज र गर्ल्स दुवै टोली पराजित भएका छन्।
सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सोमबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन ब्वाइजमा श्रीलंकाले नेपाललाई ३–० ले पराजित गर्यो। ब्वाइजमै बंगलादेशले मालदिभ्स तथा पाकिस्तानले भुटानलाई समान ३–० ले हराए। गर्ल्समा बंगलादेशले नेपाललाई २–० तथा श्रीलंकाले मालदिभ्सलाई ३–० ले पाखा लगाए।
ब्वाइजमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, मालदिभ्स, पाकिस्तान र भुटान गरी ७ राष्ट्र सहभागी छन्। गर्ल्समा पाकिस्तान र भुटान बाहेक ५ राष्ट्रको सहभागिता छ।
नेपालबाट ब्वाइजमा निश्चल ज्ञवाली, विश्व विशेष डल्लाकोटी र साहनवाज आलमले प्रतिस्पर्धा गरिरहेका छन्। गर्ल्समा अनुश्री धोजु, सारा पन्त र आयुशा जिसी सहभागी छन्।
ब्वाइज र गर्ल्स दुवैमा फाइनल पुग्ने २ राष्ट्र काजकिस्तानमा सेप्टेम्बरमा हुने एटीएफ यू–१२ टिम प्रतियोगिताका लागि छनोट हुने छन्। प्रतियोगिता शुक्रबारसम्म चल्ने छ।