काठमाडौँ। धाविका सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक खेल्ने भएकी छन्। विश्व एथ्लेटिक्स महासंघ (डब्ल्युए)का अनुसार उनले युनिभर्सल कोटा (वाईल्ड कार्ड)मार्फत ओलम्पिकमा आफ्नो स्थान पक्का गरेकी हुन्।
ओलम्पिक खेल्ने पक्का भएसँगै ३० वर्षीय सन्तोषीले सक्दो राम्रो प्रदर्शन गर्ने बताइन्। ‘ओलम्पिक खेल्ने सपना पूरा भएकोमा एकदमै खुसी लागेको छ। सक्दो राम्रो गर्ने कोसिस गर्छु,’ उनले खेलपाटीसँग भनिन्।
सन्तोषी १३औँ दक्षिण एशियाली खेलकुद (साग)की स्वर्ण पदक विजेता हुन्। उनले १० हजार मिटर दौड ३५ मिनेट ०७.९४ सेकेन्डको समयमा पार गर्दै ऐतिहासिक स्वर्ण जितेकी थिइन्।
२६ जुन २०२४ मा उनले बंगबन्धु शेख मुजिव ढाका म्याराथनसमेत स्वर्ण जितेकी थिइन्। उनले दूरी २ घन्टा ४६ मिनेट २२ सेकेन्डमा पूरा गरेकी थिइन्।