विराटनगर । प्रिन्स दाहाल विराटनगरमा जारी राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सहिद रङ्गशालास्थित कभर्डहलमा बुधबार दुई खेलमा जित निकाल्दै प्रिन्सले अन्तिम चारमा स्थान बनाएका हुन् ।
यु–१९ विधामा प्रिन्सले पहिलो खेलमा म्यानमारका थु रिनलाई २१-११ र २१- १५ को सहज जित निकाले । यस्तै अर्को खेलमा प्रिन्सले नेपालकै रोहित बराललाई २१ - ६ र २१-११ को सेटमा जित निकालेर सेमिफाइनलमा स्थान पक्का गरे ।
मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा जारी प्रतियोगिताको यु –१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले सत्यम सुब्बालाई २१ - ४, २१ - १० ले हराएर सेमिफाइनलमा स्थान बनाए । अब प्रफुलले नेपालकै पविन लिन्थेपसंग सेमिमा प्रतिस्पर्धा गर्ने भएका छन् । पविनले प्रनिश सिंह ठकुरीलाई निर्णायक खेलमा २१ - १२, १६ -२१, २१ - १६ ले पाखा लगाउंदै सेमिमा स्थान पक्का गरे ।
यस्तै रुकेश महर्जनले सहरोज अन्सारीलाई २१ - १४, १५- २१, २१ - १७ ले पराजित गरे । महर्जनले अब सेमिफाईनलमा प्रिन्ससंग प्रतिस्पर्धा गर्ने छन् ।
यु –१५ ब्वाईज तर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले बिवेक चौधरीलाई २१ - १६, २१ - १९, रोशन साउदले उज्जल श्रेष्ठलाई १३ - २१, २१ - १२ र २१ - १३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१ - १६, २१ - ११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।
गल्र्स यु –१९ तर्फको खेलमा जेशिका गुरुङ्ग, सिमा राजबंशी, रञ्जना भट्ट, र रशिला महर्जनले अन्तिम चारको यात्रा तय गरे । जेशिकाले निता लम्साललाई २१ - १०, २१ - ६, सिमाले बिश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१ -१२, २१ - १२ ले तथा रशिलाले अञ्जना राईलाई २१ - २, २१ - ६ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । बिश्ना खेलका दौरान घुंडामा चोट आएका कारण खेलबाट बाहिरिएकी थिईन् ।
ब्वाईज यु–१९ युगल तर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१ - १०, २१ - १० को समान अन्तरले पराजित गरे । अव महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडी संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् ।
शेर्पाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१ - ११, २१ - १२ ले पाखा लगाए । यस्तै अर्को सेमिफाईनलमा पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । लिनथेपको जोडीले शिब थापा र सहरोज अन्सारीको जोडीलाई २१ - १२, २१ - १७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१ - ५, २१ - १५ ले पाखा लगाएका हुन् ।