काठमाडौँ। राष्ट्रिय च्याम्पियन प्रदीप खड्का र आयुशमान हजुर घलेले १०औँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार सफलता हात पारेका छन्।
काठमाडौँ जिल्ला टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा सहज जित हात पार्ने क्रममा प्रदीपले बोरिस अधिकारीलाई ६–२ र ६–१ तथा आयुशमानले देव आशिष रेउलेलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे।
सोही स्पर्धामा आर्यन गिरीले सविन श्रेष्ठलाई ६–० र ६–०, प्रणव खनालले निहालजंग थापालाई ६–३, ४–६ र ६–४, निसान श्रेष्ठले प्रशिद्ध मोक्तानलाई ६–२ र ६–१, प्रणव मानन्धरले गोविन्द नेपालीलाई ७–५ र ६–१, आशिष खड्काले दर्शिल श्रेष्ठलाई ६–३ र ६–२ तथा ऋतिक राणाले प्रीतम परियारलाई ६–१ र ६–२ को सेटमा हराए।
सिटिजन्स बैंकको मुख्य प्रायोजनमा भइरहेका प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियार, दावा सोनाम शेर्पा, भीष्मजंग गुरुङ, सीमान्त गुरुङ, अनिल साइ, प्रवेश पन्त, इलम दीक्षित र सन्तोष खत्रीले आ–आफ्नो प्रतिद्वन्द्वीमाथि जित रचे। ६५ वर्षमाथि पुरुष सिंगल्समा ध्रुव गुरुङ, धीरबहादुर गुरुङ र कर्मा घलेले जित हात पारे।
नेपाल टेनिस संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार वाइबा, बाबुकृष्ण कार्की र राम राणा, तुलेश्वर थेङबम, राजु श्रेष्ठ, कुरीमुल्लाह मुस्लिम र प्रदीपबहादुर शाहले सफलता पाए। ४५ वर्षमाथि पुरुष डबल्समा सञ्जीवकुमार श्रेष्ठ/मनोजविक्रम शाह, तुलेश्वर थेङबम/आशिष सिग्देल, नरेशबहादुर श्रेष्ठ/गोपाल मानन्धर, अमृत रोक्का/श्याम तिम्सिना र दुर्गा केसी/रमेश रोक्काको जोडी विजयी भए।