काठमाडौं । नेपालका प्रिन्स दाहाल र प्रफुल महर्जनले राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनमा यु –१९ मा बिजयी सुरुवातका साथ अन्तिम आठको यात्रा तय गरेका छन् । प्रिन्सले प्रियान्सु क्षेत्रीलाई २१–१३, २१–११ ले तथा महर्जनले नेपालकै सुरज गुप्तालाई २१–८, २१–११ ले पराजित गरे ।
अन्तिम आठमा स्थान बनाउनेमा नेपालका सत्यम सुब्बा, प्रनिष सिंह ठकुरी, पविन लिन्थेप, म्यानमारका थु रिन रहेका छन् । सत्यमले नेपालकै सफल थापालाई २१–१९, २१–१६ ले पाखा लगाए । प्रनिषले नेपालकै देवराज रानालाई १७–२१, २२–२० र २१–१९ ले हराए । पविनले नेपालका दिवश बिश्वकर्मालाई १९–२१, २१–१०, २१–१४, थु रिनले नेपालका पेम्बा शेर्पालाई २१–१५, २१–१२ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे ।
मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१५ तर्फ नेपालका रोहित बराल, बिवेक चौधरी, उज्जल श्रेष्ठ र नरेन्द्र बमले पनि अन्तिम आठमा स्थान पक्का गरे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।
२ लाख ५० हजार बराबरको पुरस्कार रासी रहेको प्रतियोगितामा यु – १५ ब्वाईज र गल्र्स एकल तथा यु–१९ ब्वाईज र गल्र्स एकल तथा युगल गरि ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
करिव २० लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पहिलो हुनेले २ सय, दोश्रोले १ सय र तेश्रो हुनेले ५० युएस डलर नगद पुरस्कार प्राप्त गर्ने छन् ।