काठमाडौँ। मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगिताको पहिलो दिन ६५ वर्षमाथि सहदेव ढुंगाना र रत्न गुरुङको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ। मंगलबारदेखि शुरू भएको प्रतियोगितामा उनीहरूले वाक ओभर पाउँदै सेमिफाइनमा स्थान बनाएका हुन्।
अर्को खेलमा धीर गुरुङ र रवीन्द्र श्रेष्ठको जोडीले सेमिफाइनलमा स्थान पक्का गरेको छ। यो जोडीले भिक्टर जबरा र नोरक्याल टास्टेनको जोडीलाई ६–३–६३ को स्कोरमा पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको हो।
एकलतर्फ ६५ वर्षमाथिको उमेर समूहमा ध्रुव गुरुङले राजेन्द्रजंग कार्कीलाई ६–४ र ६– १ को स्कोरमा पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरे। त्यस्तै, ४५ वर्ष माथिको इभेन्टमा प्रदीप शाहले गोपाल ज्ञवालीलाई ६–१ र ६–३ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सिटीनको यात्रा तय गरेका छन्।
५५ वर्ष माथिको उमेर समूहमा विनोद कायस्थ, मनोज शाहले वाक ओभर पाउँदै राउन्ड अफ सिक्सटीनको यात्रा तय गर्दा ४५ वर्षमाथिको इभेन्टमा केशर गुरुङले मनोजकुमार श्रेष्ठलाई ६–१, ६–३ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सटीनमा प्रवेश गरे।
यही उमेर समूहमा हेमराज ढकालले भने वाक ओभर पाएर अघि बढ्दा, ३५ वर्ष माथिको इभेन्टमा सोवित गौचन राउन्ड अफ सिक्सटीनमा पुग्दा नकुल थापाले वाक ओभर पाएर अघि बढेका थिए।
४५ वर्ष माथिको डबल्समा किरण नेपाल र ओम अधिकारीको जोडीले गोपाल दास र नरेश श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गर्दा ३५ वर्ष माथिको सिंगल्समा ब्रिजेस लाकोल, दीप जंगबहादुर राणाले अन्तिम १६ मा स्थान पक्का गरे।
४५ वर्ष माथिको सिंगल्समा मृगेन्द्र प्रसाद गिरीले रमेश रोकालाई ३–६, ६–२ र १०–७ को स्कोरमा पराजित गर्दै राउन्ड अफ सिक्सटीनमा स्थान पक्का गरे।
यही उमेर समूहको सिंगल्समा सञ्जीव कुमार श्रेष्ठ, ३५ वर्षको सिंगल्समा कृष्ण उप्रेती विजयी हुँदै अघि बढ्दा समीर गुरुङले वाक ओभर पाएर अन्तिम १६ मा स्थान पक्का गरे।
३५ वर्ष सिंगल्समा एलम दीक्षितले अन्तिम १६ मा स्थान पक्का गर्दा ५५ वर्ष सिंगल्समा जीवन घिमिरे, राम राणा, शिव सेडाईं र प्रदीप शाहले अन्तिम १६ मा आफूलाई सुरक्षित गरे। ३५ वर्षको डबल्समा राजु श्रेष्ठ र डीगेन्द्र श्रेष्ठ, निमा लामा र विभु कायस्थ तथा प्रवेश पन्त र ब्रिजेश लाकोलले क्वार्टरफाइनलको यात्रा तय गरेका छन्।
२५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न उमेर समूहमा १२७ जना प्रतियोगीले सहभागिता जनाएका छन्। जसमा अन्डर ३५, ४५, ५५ र ६५ वर्षमाथिका गरी चार उमेर समूहका खेलाडी रहेका छन्।
सिंगल र डबल्सगरी ८ विधामा प्रतिस्पर्धा हुने छ। अन्डर ३५ वर्ष उमेर समूहमा प्रथम हुने एकल विजेताले २५ हजार,दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
अन्डर ४५ वर्ष उमेर समूहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार, अन्डर ५५ वर्ष उमेर समूहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ पाउने छन्।
यस्तै, ३५ वर्ष उमेर समूहमा दुई जना खेलाडीतर्फ भने प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार राशिको व्यवस्था गरिएको छ।