काठमाडौँ। राइट टू प्रोटिन रनमा ७ हजार बढीको सहभागिता रहने भएको छ। आयोजक नेपाल भेटेरिनरी संघका संयोजक डा सितलकाजी श्रेष्ठले प्रोटिन रनको विभिन्न ८ विधामा ७ हजार १९ प्रतिस्पर्धीको सहभागिता रहने जानकारी दिए।
शनिबार हुने प्रोटिन रनको राष्ट्रिय खेलकुद परिषद्का संरक्षक तथा प्रधानमन्त्री पुष्पकलम दाहालले उद्घाटन गर्ने आयोजकले जनाएको छ।
हाफ म्याराथनको पुरुषमा १ हजार २६६ र महिलामा १८२ खेलाडी दौड्ने छन्। पुरुष १० किलोमिटर दौडमा ३ हजार ८१ र महिला ५ किलोमिटर दौडमा १ हजार १६६ खेलाडी सहभागी हुने छन्।
कक्षा १२ सम्मको पुरुष ५ किलोमिटर दौडमा ७९२ र महिला ३ किलोमिटर दौडमा ४ ७२ तथा व्हीलचेयरको पुरुषमा ४० र महिलामा २० खेलाडी सहभागी हुने छन्। सबै विधामा नगद पुरस्कार राखिएको छ। कुल पुरस्कार राशी १४ लाख ८३ हजार ३३३ रुपैयाँ ३३ पैसा (२५ प्रतिशत करसहित) रहेको छ।
हाफ म्याराथनको पुरुष/महिलामा शीर्ष पाँच स्थानमा रहनेले क्रमशः १ लाख, ७५ हजार, ५० हजार, ४० हजार र ३० हजार नगद पुरस्कार पाउने छन्। पुरुष १० किलोटिमर दौडमा पहिलोदेखि पाँचौं स्थानमा रहनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १० हजार नगद प्राप्त गर्ने छन्।
कक्षा १२ सम्मको महिला ३ किलोमिटरमा पहिलो हुने २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले ५ हजार र पाँचौँले २ हजार ५ सय नगद पुरस्कार पाउने छन्। बाँकी ४ विधामा पहिलो हुनेले ३० हजार, दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौँले ५ हजार नगद पुरस्कार जित्ने छन्। उपरोक्त आठै विधाको नगद पुरस्कार करबाहेकको हो।
प्रोटिनमाथिको अधिकारको मर्मलाई आत्मासात् गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यसाथ आयोजित प्रोटिन रनको यो तेस्रो संस्करण हो। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरू भई पुनः दशरथ रंगशालामै आएर टुंगिने छ।