रुपन्देही । बुटवलमा भएको दोस्रो मेयर तथा छैटौं बुटवल ओपन टेनिसमा प्रदीप खड्का र अभिलाषा विष्ट फाइनल पुगेका छन् ।
शुक्रबार भएको प्रतियोगिताको सेमिफाइनल खेलमा प्रदीपले प्रणव मानन्धरलाई र अभिलाषाले आईशा लामालाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
प्रदीपले प्रणवमाथि ६–१, ३–६ र ६–२ को सेटमा पराजित गरे । उले फाइनलमा ऋतिक रानासँग प्रतिस्पर्धा गर्नेछन् । ऋतिकले निशान्त श्रेष्ठलाई ६–१ र ६–३ को सेटमा हराउँदै फाइनल पुगेका हुन् ।
अभिलाषाले आइशालाई ६–२ र ७–५ को सेटमा हराईन् । उनले सुभांगी शाहसँग उपाधिका लागि खेल्नेछिन् । सुभांगीले प्रकृति श्रेष्ठलाई ७–६, १–६ र ६–१ को सेटमा हराउँदै फाइनल पुगिन् ।
३५ वर्षमाथिको फाइनलमा कमल भण्डारी र अनिल साई खेल्ने भएका छन् । कमलले गोपी भट्टराईलाई ६–१ र ६–१ को सेटमा हराए भने अनिलले सन्तोष खत्रीलाई ६–४ र ६–४ को सेटमा पाखा लगाए ।
मेन्स डबल्सको उपाधि आशिष खड्का र आयुष्मान गुरुङ्गको जोडीले जित्यो । सक्षम बिक्रम शाह र आर्यन गिरीको जोडीलाई ६–२ र ६–३ को सेटमा हराउँदै आशिष र आयुष्मानको जोडीको उपाधि जितेको हो ।
३५ वर्षमाथिको डबल्सको उपाधि सिमान्त गुरुङ्ग र अनिल शाहीको जोडीले जित्दा ४५ वर्षमाथिको सिंगल्सको उपाधि कमल भण्डारी र डबल्सको उपाधि गोपी भट्टराई र धरम लामिछानेले जितेका छन् ।
५५ वर्षमाथिको सिंगल्स्को उपाधि चन्द्र शाही तथा डबल्सतर्फको उपाधि लोक गुरुङ्ग र धरम लामिछानेले जितेका छन् ।
६५ वर्षमाथिको सिंगल्सका उपाधि मनोज रानाले जितेका छन् । फाइनलमा ध्रुव गुरुङ्गलाई हराउँदै उनले उपाधि जिते ।
रुपन्देही जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिता फागुन १९ गतेसम्म चल्नेछ ।