रुपन्देही । बुटवलमा सुरु भएको दोस्रो मेयर तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा निहाल जेबी थापा र उर्गेन शेर्पाले अन्तिम १६ मा स्थान बनाएका छन् ।
मंगलबार मेन्स सिंगलमा जित निकाल्दै निहाल र उर्गेनले प्रि–क्वार्टरफाइनलमा स्थान बनाएका हुन् ।
निहालले बिकास खड्कालाई ६–४ र ६–१ को सेटमा पराजित गरे । उर्गेनले निर्मल मगरलाई ६–४ र ६–४ को सेटमा पाखा लगाए ।
जित सहित दुवै राउण्ड अफ १६ मा प्रवेश गरे ।
त्यस्तै ३५ वर्षमाथिको सिंगल्समा बिकास पाण्डेले टिका घिमिरेलाई ६–२ र ६–३ ले, राजन पौडेलले विश्वास थापालाई ६–१ र ६–२ ले, नबिन श्रेष्ठले रिस्छल थापालाई ६–० र ६–१ ले तथा बिकाश गुरुङ्गले प्रकाश बस्नेतलाई ६–० र ६–३ को सेटमा हराए । जित सहित विजेता खेलाडीले राउण्ड अफ १६ मा स्थान बनाए ।
४५ वर्षमाथिको मेन्स डबल्समा लोक गुरुङ्ग र माधव भण्डारीको जोडीले गोपी ढुङ्गना र मनोज ढुङ्गनाको जोडीलाई ६–२ र ६–० को सेटमा पराजित गरे । त्यस्तै, पदम गुरुङ्ग र राज गुरुङ्गको जोडीले बिष्णु हमाल र मनोज नेपालको जोडीलाई ६–० र ६–० को सेटमा तथा छेवाङ्ग लामा र अर्जुन गुरुङ्गको जोडीले रामु बिक र मनोज बस्नेतको जोडीलाई ६–० र ६–१ को सेटमा हराउँदै क्वार्टरफाइनल प्रवेश गरे ।
प्रतियोगितामा एकलतर्फका विजेताले ६० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । ३५ वर्षमाथिको एकलतर्फका विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
४५ वर्षमाथि एकलतर्फका विजेताले ३५ हजार, दोस्रोले २० र तेस्रोले १० हजार तथा ५५ वर्षमाथिको एकल तर्फको विजेताले २५ हजार, दोस्राले १५ र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
६५ वर्षमाथिको एकलतर्फको विजेताले १५ हजार, दोस्रोले ७ हजार ५ सय र तेस्रोले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
युगलतर्फ खुल्लातर्फ पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
३५ वर्षमाथि सबै विधामा पहिलो हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
रुपन्देही जिल्ला टेनिस संघले आयोजना गरेको प्रतियोगिा फागुन १९ गतेसम्म चल्नेछ ।
मंगलबार सुरु प्रतियोगितालाई लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई लगायतले उद्घाटन गरेका थिए ।