काठमाडौं । सक्रिय खेल जिवनपछि खेलाडीको भविष्य के ? धेरै खेलाडी यही अन्यौलतामा रहन्छन् । सक्रिय खेल जिवनपछि धेरै फुटबलर खेल जिवनबाट पलायन जस्तै हुन्छ । केही थोरै खेलाडी मात्र फरक भुमिकामा फुटबलमा देखिन्छन् ।
सक्रिय खेल जिवनपछि खेलाडीको फुटबल करियरलाई अघि बढाउन सहयोग पुर्याउने उद्धेश्यले नेपाल फुटबल प्लेयर्स एसोसियसनले कोचिङ कोर्सको सुरुवात गरेको छ । पहिलो चरणको कोर्स सोमबार एन्फा कम्प्लेम्समा सुरु भएको छ ।
फुटबल खेलाडी संघले आफ्नो शैक्षिक योजना अन्तर्गत खेलाडीलाई कोचिङ कोर्समा आबद्ध गराएका हो । जसमा राष्ट्रिय टिमका खेलाडी र पूर्व राष्ट्रिय खेलाडी गरि १७ जना सहभागी छन् । कोर्समा सहभागी खेलाडीले फुटबलको सी लेभरको कोचिङ कोर्स पुरा गर्न प्रयास गर्नेछन् ।
अन्यले कोचिङ कोर्स डी लेभलबाट सुरु गर्नुपर्छ, राष्ट्रिय टिमको जर्सी लगाएका खेलाडीले भने कोचिङ कोर्स सी लेभलबाट सुरु गर्न पाउँछन् । त्यही कोर्सको सुरुवात फुटबलर खेलाडी संघको पहलमा सोमबार सुरु भएको हो । एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङले कार्यक्रमको उद्घाटन गरे । खेलाडी संघको नेतृत्व गरेका पूर्व खेलाडी कार्यक्रमको अतिथी थिए । यो कार्यक्रम एक हप्ता अर्थात फागुन ७ गतेसम्म चल्नेछ ।
‘फुटबल खेलिसकेपछि फुटबलरको जीवन के हुन्छ भन्ने धेरै प्रश्न छ । कोचिङ कोर्स खेलाडीपछिको जीवनको एउटा तयारी पनि हो ।’ फुटबलर खेलाडी संघ अध्यक्ष बिक्रम लामाले भने, ‘खेलाडीले खेल्दै–सिक्दै करियर अघि बढाउनुपर्छ भन्ने अन्तराष्ट्रिय अभ्यास छ । खेलाडी संघले संस्थागत रुपमा त्यसको पहल गरेको हो ।’
‘खेलाडीको रुपमा करियर अन्त्य गरेपछि प्रशिक्षकको रुपमा कोर्स पुरा गर्न केही वर्ष लाग्छ । प्रशिक्षकको लाईसेन्स लिने समय खेलाडी हुँदै किन पुरा नगर्ने ?’ बिक्रम प्रश्न गर्छन्, ‘खेलाडीले खेल्दै गर्दा खेलपछिको करियर पनि बनाउन सक्छन् । यसले खेलाडीलाई भोलिको दिनमा ब्यवस्थापनमा आउन पनि सहयोग गर्छ ।’
‘अन्तराष्ट्रिय फुटबलका खेलाडीहरु खेल जीवन लगत्तै प्रशिक्षक बनेर मैदानमा देख्ने गरेका छौं । अन्तराष्ट्रिय रुपमै खेल्ने र कोचिङ पढ्ने अभ्यास छ ।’ बिक्रम भन्छन्, ‘आफ्नो भविष्यका लागि खेलाडी आफैले मेहनत गर्नुपर्छ । खेलाडी संघले शैक्षिक कार्यक्रम अन्तर्गत कोचिङ कोर्सको सुरुवात गरेको हो ।’