काठमाडौं । ११ औं संस्करणको किन्डर ओलम्पिक माघ ६ र १३ गते दशरथ रंगशालामा हुने भएको छ।
अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एसोसियसन एकताको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगितामा यसपटक काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
दशरथ रंगशालामा हुने कार्यक्रममा ३ देखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद इभेन्ट्समा भाग लिने प्रतियोगिताका संयोजक केदारमान स्थापितले बताए । जसमा एथलेटिक्स लगायत जुडो, कराते, उसु, तेक्वान्दो खेल समावेश गरिएको छ।
सानै उमेरबाट नै विद्यार्थीहरुलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उद्धेश्यले आयोजित प्रतियोगिताको नारा जित भन्दा सहभागिता महत्वपूर्ण राखिएको छ।
एकताका अध्यक्ष विना शर्माले भनिन्, 'किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो। साना नानीहरुलाई रंगशालासम्म दोर्याउनु हाम्रो उदेश्य हो। हामीले सबै सहभागिलाई पदक दिन्छौं। ताकी जित भन्दा सहभागिता मुख्य हो भन्ने सबैले महशुश गरुन्।'
सहभागि खेलाडीलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ।