काठमाडौं । नेपाल सुपर लिग एनएसएल शनिबार सम्पन्न भएको छ । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले एनएसएलको दोस्रो संस्करणको उपाधि उचाल्न सफल भएको छ ।
लिग चरणमा लयमा देखिन संघर्षरत देखिएको ललितपुरले नकआउट चरणमा भने शानदार पुनरागमन रच्यो । पहिलो क्वालिफायरमा काठमाडौंलाई निरिह तरिकाले हराएको ललितपुरले दोस्रो क्वालिफायरमा १० खेलाडीमा पोखरालाई हराउन सफल रह्यो । फाइनल खेलमा उसले धनगढीलाई कुनैपनि समय हाबी हुन दिएन । पुनरागमन शानदार जित सहित उसले दोस्रो सिजनको उपाधि उचाल्यो ।
हुन न ठुलो खेलमा उपाधिनै मुख्य उपलब्धि हो । तर खेल जति ठुलो हुन्छ, खर्चपनि त्यो भन्दा धेरै हुन्छ ।
एनएसएलको दोस्रो संस्करणमा सहभागी टिमहरुले २ करोडमाथि खर्च गरेका छन् । फाइनल खेलको उपाधिसँगै कुन टिमले कति पुरस्कार पाए त ?
उपाधि जितेको ललितपुरले ७० लाख रुपैयाँ नगद पुरस्कार पाएको छ । दोस्रो भएको धनगढीले २० लाख रुपैयाँ नगद प्राप्त गरेको छ ।
प्रतियोगिताको फेयर प्ले भने विरगञ्ज युनाईटेड एफसीले जित्यो । तर विरगञ्ज कुनै रकम भने पाएन ।
विधागततर्फ सर्वोत्कृष्ट खेलाडी बनेका अनन्त तामाङले ट्रफी सहित २ लाख रुपैयाँ प्राप्त गरे । अन्य विधामा उत्कृष्ट बनेका खेलाडीले ट्रफी सहित जनही १ लाख रुपैयाँ प्राप्त गरे ।
उत्कृष्ट गोलकिपर बनेका ललितपुरका जेफ्री मार्सेल, गोल्डेन बुट पाएका लिगका सर्वाधिक गोलकर्ता ललितपुरका इमु इजिकेल र इमर्जिङ प्लेयर बनेका धनगढीका रोहन कार्कीले जनही १ लाख रुपैयाँ नगद प्राप्त गरेका छन् ।