सिर्जना, गजेन्द्र, पूर्णलक्ष्मी र मुकेशलाई स्वर्ण

काठमाडौं । आर्मीका सिर्जना पाण्डे, गजेन्द्र राई, पूर्णलक्ष्मी न्यौपाने र मुकेश पालको टिमले राष्ट्रिय मिक्स रिले दौडमा स्वर्ण जितेको छ।
कीर्तिमानी धावक बैकुण्ठ मानन्धरको सम्मानमा एथलेटिक्स परिवार नेपालद्वारा शनिबार आयोजित प्रतियोगिताको निर्धारित १० किलोमिटर दूरी आर्मीले ३२ मिनेट ५८ दशमलव ८६ सेकेन्डमा पूरा गरे । एक टिमबाट समान २–२ पुरुष÷महिला गरी खेलाडी दौडेका थिए । प्रत्येक खेलाडीले २ दशमलव ५ किलोटिमर तय गर्नु पर्ने थियो ।
नेपाल प्रहरीका राममाया बुढा, सन्तोषनाथ योगी, सुमित्रा चौधरी र नागेश्वर अहिर ३३ मिनेट ४५ दशमलव ५६ सेकेन्ड समयमा दौड पूरा गर्दै दोश्रो भए । ३४ मिनेट २२ दशमलव ७३ सेकेन्डमा दौड पूरा गरेका फुलमती राना, सन्जिव नेपाली, सिमा चौधरी र राजेन्द्र तामाङ एपीएफको टोली तेश्रो भयो । शीर्ष ३ स्थान हात पार्नेले क्रमशः ३२ हजार, २४ हजार र १६ हजार नगद पुरस्कार पाए ।
आर्मीका गजेन्द्र पुरुष खुला ५ किलोमिटर दौडमा पनि स्वर्ण जित्न सफल भए । उनले निर्धारित दूरी १६ मिनेट १० दशमलव ९२ सेकेन्डमा तय गरे । रजत र कांस्य पनि आर्मीकै खेलाडीले जिते । मुकेश पाल १६ मिनेट १२ दशमलव ४२ सेकेन्ड समयमा दोश्रो तथा सञ्जय श्रेष्ठ १६ मिनेट १६ दशमलव ८३ सेकेन्ड समयमा तेश्रो बने ।
सो स्पर्धाको महिलामा प्रहरीकी राममाया बुढा पहिलो भइन् । राममायाले १८ मिनेट ५६ दशमलव ३५ सेकेन्ड समय निकालिन् । आर्मीकी पूर्णलक्ष्मी १९ मिनेट १५ दशमलव ४८ सेकेन्ड दोश्रो तथा आर्मीकै सिर्जना १९ मिनेट ४० दशमलव ८५ सेकेन्ड तेश्रो भए । पुरुष÷महिला दुवैमा पहिलो हुनेले १० हजार, दोश्रोले ७ हजार र तेश्रोले ५ हजार नगद पुरस्कार हात पारे । खुला सहित मिक्स रिलेमा चौथोदेखि दसौं स्थानमा आउनेलाई नगदबाट पुरस्कृत गरिएको थियो ।
भेट्रान पुरुष ४१ देखि ५० वर्ष उमेरसमूहको ५ किलोटिमर दौडमा च्यासलका राकेश महर्जन पहिलो, चापागाउँका नारायण देशार दोश्रो र काठमाडौंका मनिनकुमार महर्जन तेश्रो बने । पुरुष ५१ वर्षमाथि ५ किलोमिटर दौडमा कीर्तिपुरका धर्म महर्जनले स्वर्ण, दाङका भीमबहादुर गुरुङले रजत र काठमाडौंका रेवतबहादुर दाहालले कांस्य हात पारे । भेट्रान महिला ३५ वर्षमाथि ५ किलोमिटर दौडमा एपीएफकी कृष्णेश्वरी सिन्तकला पहिलो, थानकोटकी सर्मिला बस्नेत दोश्रो र बालाजुकी विनिता महर्जन तेश्रो स्थानमा रहे ।
विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा ६ स्पर्धा २ सय ५० खेलाडीले प्रतिस्पर्धा गरेको एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बताए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । आयोजकका अनुसार जम्मा २ लाख ८० हजार नगद पुरस्कार वितरण गरियो ।
प्रतियोगिताको ब्यवस्थापन कम्पनी प्रो स्पोर्टस प्रालीले मिक्स रिले नेपालमै पहिलोपटक आयोजना गरिएको जानकारी दिएको छ ।