काठमाडौं । एथलेटिक्स परिवार नेपालले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई नगद सहित सम्मान गरेको छ ।
बैकुण्ठ मानन्धरको सम्मानमा मिक्स रिले दौडको आयोजना गर्दै एथलेटिक्स परिवारले नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित सम्मान गरेको हो ।
एथलेटिक्सको माध्यमबाट नेपाली खेल क्षेत्रमा योगदान पुर्याएको भन्दै परिवारले लिजेण्ड धावक मानन्धरलाई सम्मान गरेको हो । राखेप उपाध्यक्ष शिव कोईराला र एथलेटिक्स परिवार नेपालका सल्लाहकार सम्भु दाहालले ताम्रपत्र सहित मानन्धरलाई सम्मान गरे ।
कार्यक्रममा एसियन क्रस कन्ट्रीका स्वर्ण पदक विजेता तथा एसियन गेम्सका राष्ट्रिय कीर्तिमान राख्न सफल दिपक अधिकारीलाई नगद २० हजार सहित सम्मान गरिएको छ । एथलेटिक्स परिवार र बैकुण्ठ मानन्धर फाउन्डेसनले पूर्व घोषणा गरे अनुसार अधिकारीलाई नगद सहित सोही कार्यक्रममा सम्मान गरेका हुन् ।
परिवारका अध्यक्ष राजन खत्रीले मरेपछि मात्र ब्यक्तिलाई सम्मान गर्ने प्रचलनबाट माथि उठ्दै नेपाली खेलकुदमा अतुलनीय योगदान पुर्याउन सफल बैकुण्ठ मानन्धरको नाममा प्रतियोगिता आयोजना गरेर सम्मान गरिएको बताए ।
मिक्स रिलेमा विभागीय टिम आर्मीको टिम पहिलो, पुलिसको दोस्रो र एपीएफको टिम ‘वान’ तेस्रो बनेका थिए ।