निजगढ । नवौं संस्करणको सिजि कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधि लोटस एकेडेमी जितपुर सिमरा (बारा)ले जितेको छ ।
शुक्रबार भएको फाइनल खेलमा सोलिडारिटी इन्टरनेसनल एकेडेमी मकवानपुरलाई १–० गोल अन्तरले हराउँदै लोटसले उपाधि जितेको हो ।
बाराको परवानिपुरस्थित दिल्ली पब्लिक स्कुलको खेल मैदानमा लोटसका लागि बिवश बुढाथोकीले निर्णायक गोल गरेका थिए ।
पहिलो हाफमा गोल रहित बराबरी खेलेको लोटसले दोस्रो हाफमा गोल गरेको हो । लोटसका लागि खेलको ५० औं मिनेटमा बिवशले गोल गर्दै टिमलाई सहज दिलाए ।
खेलको प्लेअर अफ दी म्याच पनि बिवश चुनिए । उपाधिसँगै लोटसले १५ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै उपविजेता सोलिडारिटिले ७ हजार रुपैयाँ प्राप्त गरेकोछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट स्ट्राइकर लोटस एकेडेमीका दिलकुमार विश्वकर्मा चुनिए । त्यस्तै सर्वोत्कृष्ट प्रशिक्षक लोटसका दधिर क्षेत्री, सर्वोत्कृष्ट मिडफिल्डर सोलिडारिटीका अबिनाश बोम्जन, सर्वोत्कृष्ट डिफेन्स सोलिडारिटिका सुजन खत्री र सर्वोत्कृष्ट गोलरक्षक लोटसका भावेक घिमिरे घोषित भए ।
चौधरी ग्रुपको सिजि एजुकेसनको व्यवस्थापनमा संचालित प्रतियोगिता पौष १३ गतेदेखि संचालन भएको थियो । प्रतियोगितामा पर्साका ९, बाराका ५, मकवानपुर र चितवनका ११ गरि १६ वटा बिद्यालयले प्रतिस्पर्धा गरेका थिए ।