काठमाडौं । ए डिभिजनका ६ क्लबले सहिद स्मारक ए डिभिजन लिगको तयारी रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि प्रतियोगितामा भाग नलिने घोषणा गरेका छन् ।
ए डिभिजनका ६ वटा क्लबले एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कालाई ज्ञापन पत्र बुझाउँदै एक हप्ताभित्र तयारी वापतको रकमको भुक्तानी नपाए एन्फाका कुनैपनि कार्यक्रममा भाग नलिने चेतावनी दिएका छन् ।
आर्थिक मन्दीका बीच सहिद स्मारक लिगलाई सफल बनाउन ठुलो लगानी गरेको उल्लेख गर्दै क्लबहरुले आर्थिक वर्ष ७८-८९ र ८९-८० को सञ्चालित प्रतियोगिताको तयारी वापत पाउनुपर्ने रकम एक हप्ताभित्र भुक्तानी गरिदिन क्लबहरुको माग छ ।
ए डिभिजनका ६ क्लबले तयारी वापतको रकम नपाउँदा क्लबलाई परेको समस्या र यसको असर प्रति गम्भिर ध्यानाकर्षण गराउँदै एन्फामा निवेदन दर्ता गराएका हुन् ।
एन्फामा ज्ञापन पत्र बुझाउने क्लबमा चर्च ब्वाईज युनाईटेड, खुमलटार युवा क्लब, मनाङ मस्र्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, एनआरटी क्लब र फ्रेन्ड्स क्लब रहेका छन् ।
आईतबार एन्फा हेडक्वार्टर पुगेर फ्रेन्ड्सका अध्यक्ष विश्वास बिक्रम शाहले एन्फाका वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्कालाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापनपत्र बुझाउने कार्यक्रममा ए डिभिजनका ६ क्लबका अध्यक्ष सहभागी थिए ।
ए डिभिजनका क्लबले पछिल्ला दुई सिजनको लिगको तयारी खर्च एन्फाबाट पाएका छैनन् । तयारी वापतको खर्च नपाउँदा खेलाडीले क्लब तथा अफिसियललाई रकम भुक्तानी गर्न सकेका छैनन् ।