काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका महासचिव किरण राई र पूर्व महासचिव इन्द्रमान तुलाधरले शनिबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
एन्फा कार्यसमिति बैठक बस्ने तयारी गरिरहदाँ वर्तमान र पूर्व महासचिवले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।
एन्फाको भदौ २४ गतेको विशेष साधारण सभा पश्चात बदलिएको फुटबलको राजनीतिक समिकरणका बीच शनिबार संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
एन्फा स्रोतका अनुसार पूर्व महासचिव इन्द्रमान तुलाधरले फुटबलको संस्थापन पक्षसँग मिलेर जाने निर्णय गरेका छन् । शनिबार औपचारिक रुपमा पत्रकार सम्मेलनमार्फत तुलाधरले सार्वजनीक रुपमा त्यसको औचित्य पुष्टि गर्ने कोशिश गर्नेछन् ।
एन्फाले सोमबार कार्यसमितिको बैठक राखेको छ । बैठकमा कर्मचारीको जिम्मेवारी फेरबदलदेखि नयाँ नियुक्तिको एजेण्डा छ । तुलाधर प्रमुख कार्यकारी अधिकृत सिईयोको जिम्मेवारी सहित एन्फा हेडक्वार्टर प्रवेश गर्ने चर्चा छ ।
भदौको अन्तिम साता हेटौडामा भएको विशेष साधारण सभाबाट तुलाधरले अविश्वासको प्रस्ताव फेस गरेका वर्तमान अध्यक्ष पंकज नेम्वाङ्गलाई सघाएका थिए । उनले विशेष साधारण सभा बैठकको मतदान बहिष्कार गरेपनि उनी पक्षका अधिकांशले नेम्वाङलाई विश्वासको मत दिएका थिए । त्यसपछि नेम्वाङ्गले झण्डै दुई तिहाई नजिकको विश्वासको मत हेटौडको विशेष अधिवेशनबाट प्राप्त गरेका थिए ।
हेटौडा अधिवेशनबाट केही समय चुपचाप देखिएका तुलाधरले एन्फा महासचिवसँग मिलेर संयुक्त पत्रकार सम्मेलनको तयारी गरेका छन् ।