काठमाडौं । गुल्मीमा युथ पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
जिल्लाको फोर्टिन स्टार युवा क्लवले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसरमा पुस ७ देखि १० गतेसम्म माध्यमिक विद्यालयस्तरीय प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
गुल्मीको धार्मिक एवं पर्यटकीय स्थल रेसुङ्गाको यज्ञशाला मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको आयोजनाबारे जानकारी दिईएको हो ।
प्रतियोगितामा कक्षा १० सम्ममा अध्ययनरत विद्यार्थीले मात्र सहभागिता जनाउन सक्नेछन् ।
‘चौथो फोर्टिन स्टार कप–२०८०’ नाम दिइएको प्रतियोगिता गुल्मी सदरमुकाम तम्घासको चिदिचौरमा हुने क्लवका अध्यक्ष विक्रम सिंह बुढाथोकीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई ३५ हजार र द्धितिय हुनेलाई २५ हजारका साथै ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा कक्षा ९ र १० का विद्यार्थी खेलाडीहरुले अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको मार्कसिटको प्रतिलिपी उपलब्ध गराउनुपर्ने, खेलाडी अनिवार्य रुपमा पोशाकमा उपस्थित हुनुपर्ने लगायतका नियम पनि आयोजकले सार्वजनिक गरेको छ ।
प्रतियोगितामा खेलाडीलाई प्राथमिक उपचार र एक लाख बराबरको म्यादी बीमा समेत गरिने क्लवका महासचिव नारायण आचार्यले जानकारी दिए ।