एजेन्सी । स्पेनिस टेनिस खेलाडी राफेल नाडालले अस्ट्रेलियन ओपन २०२४ मा खेल्ने भएका छन् ।
नाडाल करिब एक वर्षपछि चोटबाट फर्किएका छन् । अस्ट्रेलियन ओपनले आफ्नो वेबसाइटमा सो जानकारी दिएको छ।
अष्ट्रेलियन ओपनले डिसेम्बर ७ बिहीबार वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनमा भाग लिने खेलाडीको सूची सार्वजनिक गरेको छ ।
यो सूचीमा नाडालका अलावा जापानकी नाओमी ओसाकाको नाम पनि छ । उनी पनि लामो समयदेखि टेनिस क्षेत्रबाट टाढा थिइन् ।
अष्ट्रेलियन ओपन २०२४ जनवरी १४ बाट सुरु हुँदैछ, जसको फाइनल २८ जनवरी मा हुनेछ। प्रतियोगितामा करिब २०० खेलाडी पुरुष र महिला सहभागी हुनेछन् ।
नाडाल सन् २०२३ को जनवरीमा अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएका थिए । उनी सोझो सेटमा म्याकेन्जी म्याकडोनाल्डबाट ६-४, ६-४, ७-५ ले पराजित भएका थिए । यो खेलमा नाडाल घाइते भएका थिए । त्यसयता उनी टेनिसबाट टाढा थिए ।
३७ वर्षीय नाडालले अष्ट्रेलियन ओपन अघि ३१ डिसेम्बर २०२३ देखि सुरु हुने ब्रिस्बेन अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा पनि भाग लिनेछन् र यसको फाइनल ७ जनवरी २०२४ मा खेलिनेछ।
यस्तै चार पटकको ग्राण्डस्लाम च्याम्पियन ओसाकाले सेप्टेम्बर २०२२ यता कुनै खेल खेलेककी छैनन् ।
उनले पछिल्लो पटक २०२२ मा टोकियोमा भएको प्यान प्यासिफिक ओपनमा खेलेकी थिइन् । बिमारीका कारण उनले यस प्रतियोगिताबाट बिचैमा बाहिरिएकी थिइन् ।
२६ वर्षीया ओसाकाले सन् २०२३ को जुलाईमा छोरी शाइलाई जन्म दिइन् । ओसाका सन् २०१९ र २०२१ मा अस्ट्रेलियाली च्याम्पियन बनेकी थिइन् ।