काठमाडौं । कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेशबाट छनोटमा परेका खेलाडीलाई मासिक भत्ता दिने भएको छ ।
कर्णाली प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुदका लागि प्रदेश छनोटमा परेका खेलाडीलाई मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
कर्णाली प्रदेशले दशौं राष्ट्रिय खेलकुदमा दोहोरो पदक जित्ने लक्ष्य सहित तयारीलाई अघि बढाएको छ ।
प्रदेश सरकारले क श्रेणीमा परेका एथलेटिक्स, उसु, आइटीएफ, कराँते र तेक्वान्दो खेलका खेलाडीलाई मासिक भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वमित्र सन्जयालले खेलाडीलाई दैनिक प्रशिक्षणमा सहयोग पुर्याउने उद्धेश्यले खाजा खर्च स्वरुप भत्ताको व्यवस्था गरेको बताए ।
‘कर्णाली प्रदेश खर्च मापदण्ड अनुसार दैनिक प्रशिक्षण गरेवापत खाजा खर्च २ सय प्रति दिनका दरले शनिबार तथा प्रशिक्षण नभएको दिन घटाई बढीमा २५ दिन बराबरको हुन आउने रकम प्रशिक्षकले खेलाडीलाई प्रशिक्षण गराएको दैनिक हाजिरी प्रमाणित गरेर पेश गरेको आधारमा बढीमा ५ हजार भुक्तानी हुनेछ ।’ सदस्य सचिव सन्जयालले भने ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशले अर्को वर्ष आयोजना गर्दैछ । प्रतियोगिता आयोजनाका लागि प्रदेश सरकारले सुर्खेतमा अन्तराष्ट्रिय स्तरको रंगशाला निर्माणको कामलाई तिव्र गतिमा अघि बढाएको छ ।