काठमाडौं । नेपाल टेनिस खेलाडी सुनिरा थापाले बंगलादेशको ढाकामा भएको वर्ल्ड टेनिस टुर जुनियर, जिआर ५ को सर्किट– १ मा रजत जितेकी छन् ।
शुक्रबार ढाकास्थित शेख जमाल नेसनल टेनिस कम्प्लेक्समा भएको गल्स सिंगल्स फाइनलमा सुनिरा भारतकी एलिना फरिडसंग ६–३ र ६–४ ले चुकेपछि रजतमा सिमित हुनु परेको हो ।
बंगलादेश टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको सो स्पर्धामा २७ खेलाडी सहभागी थिए ।
सुनिरा पहिलो चरणमा बाइ पाउदै प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी थिइन् ।
प्रिक्वाटरफाइनलमा भारतकी गारुगुट्टी भेनेला रेड्डीलाई ७–५ र ७–६ ले पराजित गरेकी सुनिराले क्वाटरफाइनलमा भारतकै प्रिन्सी मन्दागाल्लालाई ६–४ र ६–४ ले पराजित गरिन् ।
सेमिफाइनलमा सुनिराले भारतकै देवान्सी गोहिलमाथि ६–३ र ६–० को सहज जित दर्ता गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।
प्रतियोगितामा नेपालबाट आइशा डोल्कर गुरुङ, राजवीर प्रधान र प्रणव मानन्धरले पनि प्रतिस्पर्धा गरेका थिए । तीनै खेलाडी पदक विहीन बने ।
नेपाली टोलीले सोमबारदेखि सुरु हुने यसै प्रतियोगिताको सर्किट– २ मा पनि सहभागिता जनाउने छ । सर्किट–२ भने बंगलादेशको राजशाहीमा हुनेछ ।