काठमाडौं । शिभाली गुरुङले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको यु–१४ गल्स सिंगल्समा स्वर्ण जितेकी छन् ।
शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरिन् ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडी पहिलो भए । उनीहरुले महेश श्रेष्ठ र अनिल शाइको जोडीलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए ।
योसंगै प्रतियोगितामा समावेश विभिन्न २३ स्पर्धा मध्ये २० स्वर्णको छिनोफानो भइसकेको छ । बाँकी ३ स्पर्धाको फाइनल प्रतियोगिताको अन्तिम दिन शनिबार हुनेछ । त्यसदिन प्रतियोगिताकै २ मुख्य स्पर्धा पुरुष-महिला सिंगल्ससहित भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्सको फाइनल हुनेछ ।
पुरुष सिंगल्समा प्रदीप खड्काले ऋतिक राणासंग खेल्नेछन् । महिला सिंगल्समा अभिलाषा विष्टले प्रकृति श्रेष्ठविरुद्ध प्रतिस्पर्धा गर्ने छिन् ।
भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा कमलबहादुर भण्डारी र जितेन्द्र परियारबीच प्रतिस्पर्धा हुनेछ ।