काठमाडौं । अभिलाषा विष्ट र माहिका राणको जोडीले तेश्रो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको महिला डबल्समा स्वर्ण जितेका छन् ।
बिहीबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा अभिलाषा र माहिकाको जोडीले प्रकृति श्रेष्ठ र रायना शाहको जोडीलाई ६–३ र ६–१ को सोझो सेटमा पराजित गरे ।
भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा विमलकुमार गुरुङ पहिलो भए । उनले फाइनलमा जीवन घिमिरेलाई सीधा सेटमा ६–३ र ६–४ ले हराए ।
वीर गणेशमान सिंह फाउन्डेसन तथा वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीद्वारा संयुक्त आयोजित प्रतियोगिताको भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा सन्तोष खत्री र सुवास बस्नेतको जोडीले जितेन्द्र परियार र इलम दिक्षितको जोडीलाई ६–४ र ६–३ तथा महेश श्रेष्ठ र अनिल साइको जोडीले सिमान्त गुरुङ र कमलबहादुर भण्डारीको जोडीलाई ६–४ र ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनल यात्रा तय गरे ।
जुनियर :
प्रतियोगिताअन्तर्गत जुनियरको ब्वाइज डबल्समा वृजेश अर्याल र साश्वत वज्राचार्यको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा अद्रिन थापा र दीर्घायु लामाको जोडीलाई ६–० र ६–१ को सेटमा पाखा लगाए ।
सो स्पर्धाको गल्समा स्वस्तिका विष्ट र मेरिशा थापाको जोडीले फाइनलमा रोज राई र प्रज्ञा वज्राचार्यको जोडीलाई ६–० र ६–० ले सहजै पन्छ्याउदै पहिलो स्थान हात पारे ।
यु–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ र स्वस्तिाका विष्ट फाइनलमा भिड्ने भएका छन् । शिभालीले प्राज्ना मानन्धरलाई ६–४ र ६–१ तथा स्वस्तिाकाले कर्मिस्था नुगाह श्रेष्ठलाई ६–२ र ६–१ ले पराजित गरे ।