काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको विशेष साधारण सभा आज बिहीबार हेटौडामा बस्दैछ ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङमाथि परेको अविश्वासको प्रस्तावमाथि सभाले निर्णय गर्ने एक मात्र एजेण्डा रहेको छ ।
एन्फाका मताधिकार प्राप्त सदस्यहरुले मतदानमार्फत अध्यक्ष नेम्वाङको एन्फा बसाईबारे निर्णय लिनेछन् ।
एन्फाका ४९ सदस्यले १९ आरोप सहित अध्यक्ष नेम्वाङ र महासचिव किरण राई बर्खास्तीको प्रस्ताव दर्ता गराएका थिए ।
सोही प्रस्तावमाथि निर्णय लिन एन्फाले बिहीबार हेटौडामा विशेष साधारण बोलाएको हो ।
एन्फाका १ सय ५ सदस्य मध्य ८७ सदस्यले निर्वाचनमा भाग लिनेछन् । अविश्वासको प्रस्ताव पारित हुन ५८ मत आवश्यक पर्छ ।
एन्फाको नेतृत्वमा आएको एक वर्षपछि अध्यक्ष नेम्वाङ अविश्वासको प्रस्ताव फेस गर्ने अवस्थामा पुगेका हुन् । एन्फा भित्रको आन्तरिक शक्ति संघर्षका कारण नेपाली फुटबल दुर्घटनातर्फ उन्मुख देखिन्छ ।