काठमाडौं । बहराइनको मनामामा हुने डेविस कपको एसिया÷ओसियाना क्षेत्रको ग्रुप ५ को प्रतिस्पर्धामा भाग लिन ४ पुरुष खेलाडीलाई शुक्रबार बिदाइ गरिएको छ । नेपाल टेनिस संघका उपाध्यक्ष केशवराज पाण्डेले खेलाडीलाई सफलताको शुभकामना दिदै सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।
अक्टोबर २५ देखि २८ तारिखसम्म हुने प्रतियोगितामा अभिषेक बाँस्तोला, प्रदीप खड्का, अकी जुवेन रावत र ऋतिक राणाले टिम इभेन्टमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।
प्रशिक्षकमा शरद लामा तथा व्यवस्थापकमा कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नवीन चालिसे रहेका छन् । प्रशिक्षक लामा भने बिली जिन किङ कपअन्तर्गत एसिया÷ओसिएना ग्रुप ३ को प्रतियोगिताका लागि बहराइनमै छन् । उक्त प्रतियोगितामा नेपाली महिला टोलीले प्रतिस्पर्धा गरिरहेको छ । टोली आइतबार बहराइन् प्रस्थान गर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।