काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले प्रत्येक बर्ष आयोजना गर्दै आएको 'एनएनआईपीए बर्ष उत्कृष्ट खेलाडी’ अवार्ड आज हुदैछ । संघका अध्यक्ष दिपक श्रेष्ठले उत्कृष्ट खेलाडी सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको जनाएका छन् ।
ललितपुरस्थित पाटन दरबार स्क्वायरमा अपरान्ह साढे ३ बजे आयोजना हुने अवार्ड कार्यक्रममा २९ खेलका उत्कृष्ट खेलाडी 'एनएनआईपीए वर्ष उत्कृष्ट खेलाडी’ बाट सम्मानित हुनेछन् ।
यसपटक फुटबल, पौडी, भलिबल, टेबल टेनिस, सुटिङ, बक्सिङ, भारोत्तोलन, लन टेनिस, सफ्ट टेनिस, कबड्डी, फेन्सिङ, हक्की, स्क्वास, सेपाताक्रो, साइक्लिङ र खोखो रहेका छन् ।
यस्तै बास्केटबल, तेक्वान्दो, आइटीएफ तेक्वान्दो, ब्याडमिन्टन, ट्रायथलन, ह्याण्डबल, कराते, जुडो, उसु, आर्चरी, एथलेटिक्स, गल्फ र कुस्ती समावेश छन् ।
सम्मानित हुने २९ खेलका प्रत्येक खेलाडीले १० हजार नगद पाउने छन् । यस्तै विजेता खेलाडीको फोटोसहितको क्यालेन्डर प्रकाशन हुने छ ।
यस्तै दुई सर्वोकृष्ट खेलाडीलाई १्/१ लाख नगद पुरस्कारबाट सम्मानित गरिने छ । अवार्ड कार्यक्रममा पहिलो अन्तराष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको ‘गजराज आदर्श खेलाडी’ बाट एक जनालाई सम्मान गरिनेछ । गजराज आदर्श खेलाडीको विजेताले २५ हजार नगद प्राप्त गर्नेछन् ।
त्यस्तै एक जना खेल पत्रकारलाई एनएनआईपिए पत्रकारिता पुरस्कारबाट सम्मानित गरिनेछ । जसको पुरस्कार राशी नगद १५ हजार रहेको छ ।