काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार सी डिभिजनका क्लबसँग परामर्श गरेको छ ।
अध्यक्ष र महासचिवविरुद्ध एन्फामा अविश्वासको प्रस्ताव दर्ता भएको अवस्थामा एन्फाले सी डिभिजनका क्लबसँग सहकार्य गर्न भन्दै कमिटिनै बनाएको हो ।
महावीर क्लबका अध्यक्ष दिवाकर घलेलाई संयोजक बनाएर एन्फा तीन सदस्यीय कमिटि बनाएको छ । कमिटिमा सुशिल सुबेदी र विवेक राई सदस्यको रुपमा छन् ।
एन्फाले कमिटिले क्लब र एनफाबीच प्रतियोगिता र अन्य विषयको सन्दर्भमा मिलेर काम गर्ने उल्लेख गरेको छ ।
बैठकमा प्रतियोगिता सम्बन्धि विभिन्न विषयमा छलफल भएको र सी डिभिजनका क्लबले प्राप्त गर्ने सुविधाका लागि समिति गठन गर्ने निर्णय भएको एन्फाको भनाई छ ।
एन्फाले गत वर्षको सी र बी डिभिजन लिग गर्न सकेको छैन । रोकिएको बी र सी डिभिजन लिगको अन्यौलता अहिलेसम्म कायमै छ ।
अडिटर नियुक्तिको विवादमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्तावनै दर्ता भैसकेको छ ।
विवादलाई अल्झाउन एन्फाले अविश्वासको प्रस्तावलाई अनुशासन समितिमा लगेर थन्काएको छ ।