काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पाले नेतृत्वविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भैसकेपछि विवादलाई मुडभेटतिर लान खोजिएको आरोप लगाएका छन् ।
अविश्वासको प्रस्तावलाई अनुशासन समितिमा लैजाने निर्णयको आलोचना गर्दै पूर्व अध्यक्ष शेर्पाले एन्फा वैधानिक रुपमा विवाद समाधानको साटो गलत बाटोतर्फ लागेको बताए ।
‘वैधानिक रुपमा अविश्वासको प्रस्ताव दर्ता भएको छ । तर नयाँ अवैधानिक कामको सुरुवात नेतृत्वले गरेको देखिन्छ ।’ शेर्पाले भने, ‘निर्वाचन समितिमा जानुपर्ने फाइललाई अनुशासन समितिमा पुर्याउने काम भएको छ ।’
एन्फा महासचिव किरण राईले शुक्रबार जिल्ला तथा क्लबलाई पत्र लेख्दै अविश्वासको प्रस्ताव छलफलका लागि अनुशासन समितिमा पठाएका छन् ।
‘निलम्बित हुनुपर्ने नेतृत्वले कार्यसमितिलाई वेवास्ता गर्दै मुडभेट गराउने दिशामा अग्रसर भएको छ ।’ शेर्पाले थपे, ‘अविश्वासको प्रस्तावको निवेदनलाई निर्वाचन समितिमा पठाएर प्रकृया अघि बढाउनुपर्ने हो । नेतृत्वले एन्फाका सदस्य जिल्ला तथा क्लबलाई अझ उस्काउने र इरिटेड गर्ने काम गरेको छ ।’
एन्फाका ४९ जना सदस्यहरुले अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । विभिन्न १९ वटा आरोप लगाउँदै उनीहरुले नेतृत्व र महासचिवको बर्खास्तीको माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।