काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष र महासचिवविरुद्ध परेको अविश्वासको प्रस्ताव निवेदन अनुशासन समितिमा पठाईएको छ ।
एन्फा महासचिव किरण राईले जिल्ला फुटबल संघ र क्लबलाई पत्र लेख्दै अविश्वासको प्रस्तावको निवेदन उपर छलफल गर्न तथा प्रक्रियालाई अघि बढाउन एन्फा अनुशासन समितिमा पठाईएको जानकारी गराएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता भएपछि कार्यसमितिले एक महिनाभित्र साधारण सभा बैठक बोलाएर विश्वासको मत लिनुपर्ने विधानमा ब्यवस्था छ ।
एन्फाका ४९ सदस्यले अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईमाथि १९ वटा आरोप लगाउँदै अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
भर्चुअल विशेष साधारण सभा बैठक बोलाउने विषयमा क्लब, जिल्ला र एन्फाबीच सहमती बन्न नसकेपछि क्लब र जिल्ला मिलेर एन्फा नेतृत्व र महासचिवविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने एक क्लबका पदाधिकारीले कार्यसमिति बैठक बोलाएर साधारण सभाको मिति तोक्नुपर्नेमा नेतृत्वले विवादलाई जटिलतातर्फ लग्न खोजेको टिप्पणी गरे । यसले फुटबललाई थप दुर्घटनातर्फ लैजाने उनले उल्लेख गरे ।
आफुविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि एन्फा अध्यक्ष र महासचिव निवेदनमा समावेश हस्ताक्षर र छापको आधिकारिकतामा छानविन गर्न खोजेको देखिन्छ ।
अविश्वासको प्रस्तावलाई अनुशासन समितिमा पठाउने निर्णयबारे कार्यसमितिका सदस्यहरुले अनबिज्ञता प्रकट गरेका छन् । ‘पछिल्लो निर्णयबारे अनबिज्ञ छु । मैलेपनि मिडियाबाटै थाहा पाएको छु । जे प्रक्रिया अघि बढाएपनि कार्यसमितिले निर्णय गर्नुपर्ने हो ।’ एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले भने ।