काठमाडौं । नेपाल फुटबल खेलाडी संघले खेलाडीको उपचारका सुविधाका लागि 'बी एण्ड बी' अस्पतालसँग सहकार्य गरेको छ । घरेलु फुटबल गतिविधिमा संलग्न खेलाडीलाई आवश्यक पर्ने उपचारमा सहयोग पुर्याउने उद्धेश्यले फुटबल खेलाडी संघले अस्पतालसँग एक सम्झौता गरेको हो ।
'बी एण्ड बी'सँग फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार विपन्न वर्गका खेलाडीका लागि वार्षिक सिमित कोटमा अस्पतालले निशुल्क शल्यक्रिया सहितको उपचार गर्ने सम्झौतामा उल्लेख छ । खेलाडीले अस्पतालको सम्पुर्ण उपचार सेवामा २० प्रतिशत छुट प्राप्त गर्नेछन् ।
अथोस्कोपी शल्यक्रिया अर्थात लिगामेन्ट चोटको उपचारमा समेत अस्पतालले अन्य अस्पतालको तुलनामा झण्डै ७० प्रतिशत छुट दिने उल्लेख छ । सम्झौता अनुसार खेलाडीको परिवारको सम्पुर्ण उपचार सेवामा १५ प्रतिशत र औषधिमा १२ प्रतिशत छुटको ब्यवस्था सम्झौतामा छ ।
खेलाडीको निम्ति स्वास्थ्य तथा खेल दुर्घटना सम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालमा अस्पतालले प्राविधिक सेवा प्रदान गर्ने समेत सम्झौतामा लेखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै संघका अध्यक्ष बिक्रम लामाले खेलाडीको पहिलो प्राथमिकता स्वास्थ्य रहने उल्लेख गर्दै मैदानभित्र र बाहिर खेलाडीलाई चोट मुक्त राख्न जरुरी रहेको बताएका थिए । अस्पतालसँगको ऐतिहासिक सम्झौताले खेलाडीको उपचार सेवामा सहयोग पुग्ने धारणा राखे ।
प्रशिक्षक मेघराज केसीले फुटबल खेलाडी संघले देखाएको सक्रियताको प्रशंसा गर्दै खेलाडीको उपचार सुविधामा सम्झौताले महत्वपुर्ण भुमिका खेल्ने बताएका थिए । फुटबल खेलाडी संघले पछिल्लो समय खेलाडीसँग जोडिएका संवेदनशिल विषयलाई ध्यानमा राखेर सेवा सुविधा जुटाउने कार्यमा आफुलाई सक्रिय बनाएको छ ।