काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बोर्ड बैठक आगामी बिहीबार बस्ने भएको छ ।
खेलकुदमन्त्रीसँगको परामर्शमा राखेप सदस्य सचिव टंकलाल घिसिङले बार्ड बैठक आगामी बिहीबार बोलाएका हुन् ।
बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा बिहान १० बजे बस्ने कार्यक्रम रहेको छ ।
बैठकमा चीनमा हुने १९ औं एशियन गेम्सको सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापन, अफिसियल तथा पदाधिकारीको नामावली टुङ्गो लगाउने एजेण्डा छ ।
यस्तै, कर्मचारीको बढुवा अनुमोदनदेखि प्रशिक्षक सेवाका प्रशिक्षकको खेलगत योग्यता निर्धारण स्वीकृत गर्ने एजेण्डा समेत बैठकका लागि राखिएको छ ।
यस्तै, मुलपानी क्रिकेट रंगशाला र गिरिजाबाबु क्रिकेट रंगशाला वैजनाथपुरको डीपीआर गर्न जीटूजी विधिबाट पूल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्था, परामर्श सेवासंगको सम्झौता अनुमोदन गर्ने कार्यसूचि रहेको छ ।
यि लगायत अन्य विविध एजेण्डामा बैठकमा छलफल हुने राखेपका एक बोर्ड सदस्यले जानकारी दिए ।