काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा बैठक आईतबार बस्दैछ । भर्चुअल रुपमा आयोजना गर्ने तयारी गरिएको विशेष साधारण सभा मध्यान्न साढे १२ सुरु हुने तालिका रहेको छ ।
आर्थिक वर्ष २०७९-८० को लेखा परिक्षक नियुक्तिलाई अनुमोदन गराउन विशेष साधारण सभा आयोजना हुन लागेको हो । एन्फाले कार्यसमिति बैठकबाट पुरानै लेखा परिक्षकलाई नियुक्त गरेर विशेष साधारण सभाबाट अनुमोदन गराउन लागेको हो ।
लेखा परिक्षक सम्बन्धि निर्णयको अधिकार एन्फा कार्यसमितिले खोसेको भन्दै जिल्ला तथा क्लबहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले खुल्ला रुपमा सुचना जारी गरेर नियुक्तीका लागि प्रस्ताव साधारण सभामा लैजानुपर्नेमा एन्फाभित्रको आर्थिक हिनामिनालाई ढाकछोप गर्न बिना प्रतिस्पर्धा लेखा परिक्षक नियुक्ति गर्न लागिएको भन्दै विरोधमा उत्रिएका छन् ।
एन्फाको विशेष साधारण सभा इतर पक्षले बहिष्कार गर्ने भएको छ । पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षले बैठक वहिष्कार गर्ने सार्वजनीक रुपमा घोषणा गरेको छ । भर्चुअल रुपमा विशेष साधारण सभा बैठक आह्वान गरेर अवैधानिक ढङ्गबाट लेखा परिक्षक नियुक्त गर्न खोजेको इतर पक्षको आरोप छ ।
विशेष साधारण सभा बैठक वहिष्कार गर्ने र विशेष साधारण सभा सञ्चालनको प्रकृया अघि बढेको खण्डमा अविश्वासको प्रस्ताव अघि बढाउने इतर पक्षको आन्तरिक तयारी छ । सोही अनुसार विभिन्न जिल्लाबाट प्रतिनिधिलाई भौतिक रुपमा राजधानी उपस्थित गराएर इतर पक्षले एन्फा नेतृत्वमाथि दबाब बढाएको छ ।