काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ श्रीलंका प्रस्थान गरेका छन् ।
एसिया कप क्रिकेटको अवलोकन र नेपाली क्रिकेट खेलाडीलाई हौसला दिन घिसिङ आईतबार श्रीलंका प्रस्थान गरेका हुन् ।
नेपालले एसिया कपको समूह चरणको दोस्रो खेलमा सोमबार भारतसँग खेल्दैछ । भारतलाई हराउँदै सुपर फोरमा पुग्ने अवसर नेपाल समक्ष रहेको छ । नेपाल पहिलो खेलमा आयोजक पाकिस्तानसँग पराजित बनेको थियो ।
सदस्य सचिव घिसिङले पाकिस्तानविरुद्ध नेपालको खेल कार्यकक्षमै बसेर हेरेका थिए । एसिया कपअघि क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली टिमसँग जोड्न उनले भुमिका खेलेका थिए । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा सदस्य सचिव घिसिङले लामिछानेलाई औपचारिक बिदाई समेत गरेका थिए ।
यस्तै, सदस्य सचिव घिसिङले एसिया कपका लागि केही दिन देश बाहिर रहने भएकाले बोर्ड सदस्य अन्जन धमलालाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका छन् । उनले परिषद्को दैनिक कामकाज गर्ने गरि धमलालाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।
आफु परिषद्मा अनुपस्थित रहेको अवस्थामा राखेप सदस्य सचिवले निमित्तको जिम्मेवारी तोक्ने अधिकार ऐनमा व्यवस्था छ । सोही अनुसार धमलालाई नीतिगत निर्णय र आर्थिक कारोबार बाहेकका अन्य दैनिक कामकाज गर्ने गरि धमलालाई निमित्त सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।