काठमाडौं । थाइल्याण्डमा हुने एसिया कप अफ रोड रेसिङमा नेपालबाट राजकुमार कार्की र आषिक लामाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
एसियाली मोटरसाइकल फेडेरेसनको आयोजनामा भोलि शुक्रबारदेखि थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालबाट दुई राईडरले प्रतिस्पर्धा गर्ने भएका हुन् । प्रतियोगिता शुक्रबारदेखि सेप्टेम्बर ३ अर्थात आईतबारसम्म आयोजना हुनेछ ।
प्रतियोगितामा सहभागीता जनाउन तीन सदस्यीय नेपाली टिम बिहीबार बैकक प्रस्थान गरेको छ । कार्की र लामासँगै नासा नेपालका सचिव बिनोद तन्दुकार अफिसियलको रुपमा नेपाली टिममा रहेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् राखेपका कार्यकारी बोर्ड सदस्य एकेन्द्र कुवँर, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोबिन्द भट्टराई, नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दसरथ रिसाल तथा उपाध्यक्ष तथा मोटरसाइकल कमिसनका प्रमुख सिताराम न्यौपानेले नेपाली टोलीलाई त्रिभुवन बिमानस्थलमा बिदाइ गरेका छन् ।
थाइल्याण्ड सर्किट (नाखोन्चाइसी) ट्रयाकमा हुने २ सय सिसिका मोटरसाइकलको रेसमा एसिया महादेशका आठ वटा देशका राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।
२ हजार ५ सय मिटर लम्बाई र १२ देखि १५ मिटर चौढाईको सो ट्रयाकमा ६ वटा दायाँ मोड, ४ वटा बायाँ मोड तथा २ वटा स्लालम टाइपका मोड रहने छन् । नेपाल सहित प्रतियोगितामा जापान, भारत, थाइल्याड, फिलिपिन्स, श्रीलंका, ताईवान र चीनका राइडर्सले प्रतिस्पर्धा गर्नेछन् ।
१५ वर्ष अघि नेपालमा संस्थागत रुपमा सुरुआत भएको मोटरस्पोर्ट्स पछिल्लो समय नेपालमा लोकप्रिय बन्दै आएको छ ।
मोटरस्पोर्ट्सको लोकप्रियता र अन्तराष्ट्रिय सम्भावनालाई देखेर बागमती प्रदेशले हेटौडाको गौरीटार र कर्णाली प्रदेशले सुर्खेत स्टेडियममा रेसिङ ट्रयाकको निर्माण कार्य सुरु गरेका छन् ।