काठमाडौं । हङकङ चाइना र थाइल्यान्डले एसिया यु–२० सेभेन्स पुरुष तथा महिला रग्बी प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । हङकङ चाइना पुरुष तथा थाइल्यान्ड महिलामा च्याम्पियन बने ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा भएको प्रतियोगिताअन्तर्गत चार राष्ट्र सहभागी महिलाको राउन्ड रोविन लिगमा थाइल्यान्ड शीर्ष स्थानमा रहँदै पहिलो भयो । हङकङ चाइना दोश्रो तथा मलेसिया तेश्रो बने ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, एसिया रग्बीका अध्यक्ष कायस अल धलाई, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
नेपाली रग्बीको इतिहासमा नेपालमा भएको यो अहिलेम्मकै ठूलो प्रतियोगिता हो । गत वर्ष रग्बी संघले एसिया रग्बी यु–१८ सेभेन्सको सफलतापूर्वक आयोजना गरेको थियो ।