काठमाडौं । नेपाल घोडचढी संघको आयोजनामा ६ दिने एफईआई सोलीडारिटी कोर्स सोमबार सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच सोलीडारिटी कोर्सको उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतको उपस्थिति थियो ।
घोडचढी संघले एसियाली घोडचढी महासंघ, अन्तर्राष्ट्रिय घोडचढी महासंघ, नेपाल आर्मी, नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद्को सहकार्यमा सोलिडारिटी कोर्षको सञ्चालन गरेको हो ।
कार्यक्रमलाई नेपाली ब्राण्ड केटीएम सिटीले समेत सहयोग गरेको छ । अपेरियल पार्टनरको रुपमा केटीएम सिटीले सोलिडारिटी कोर्सलाई प्रायोजन गरेको हो ।
सुरुको दुई दिन इन्ट्रडक्सन विथ कोचिङको कोर्स समावेश छ । एफईआईका कोर्स डाइरेक्टर सिंगापुरका प्रेड्याग मर्जानोभिकले प्रशिक्षण दिने छन् ।
त्यसपछि ४ दिन एफईआई सोलीडारीटी इक्वेस्ट्रियन स्पोर्ट्स इभेन्ट फर अफिसियल एन्ड जम्पिङ डिजाइनिङका कोर्स हुने छन् ।
यो कोर्स प्रेड्यागका साथमा सिंगापुरका रक्षसन राडपौरले सञ्चालन गर्ने नेपाल घोडचढी संघले जनाएको छ ।
कोर्समा नेपाल आर्मीका आठ तथा कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती समान २–२ जना प्रशिक्षार्थी सहभागी छन् ।
कोर्षले नेपाली घोडचढीको प्राविधिक क्षेत्रमा फड्को मार्ने अपेक्षा गरिएको छ । पहिलो दिन घोडचढीको सैद्धान्तिक मात्र नभई व्यावहारिक ज्ञान नै प्रयोग शैली मार्फत नै सिकाइएको संघले जनाएको छ ।