काठमाडौं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ५३ करोड ७९ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनीक भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधबार प्रेस बिज्ञप्तिमार्फत नवौं राष्ट्रिय खेलकुदमा ५३ करोड ७९ लाख ४ हजार २ सय ३९ रुपैयाँ खर्च भएको विवरण सार्वजनीक गरेको हो ।
प्रतियोगिता सम्पन्न भएको झण्डै १० महिनापछि राखेपले नवौं राष्ट्रिय खेलकुदको खर्च विवरण सार्वजनीक गरेको हो ।
प्रतियोगिता सञ्चालनको दौरान ठुला चार्ड पर्व, लगत्तै आम निर्वाचन, सरकारले खर्च कटौती गर्दै बजेट रोक्का गरेकाले समयमै खर्च विवरण सार्वजनीक गर्न नसकिएको परिषद्को स्पष्टोक्ती छ ।
प्रतियोगिताको शीर्षकगत रुपमा बिनियोजित मध्य अपुग रकम अन्य शीर्षकबाट रकमान्तर गर्नुपर्ने भएकाले रकमान्तरको प्रक्रिया पुरा हुन असारको पहिलो हप्ता लागेकाले समेत एकिन विवरण तयार गरि सार्वजनीक गर्न ढिलाई भएको परिषद्ले जनाएको छ ।
परिषद्का अनुसार सरकारबाट ६० करोड १० लाख र आन्तरिक रुपमा ५१ लाख रुपैयाँ गरि कुल ६० करोड ६१ लाख ५२ हजार ७ सय रुपैयाँ परिषद्सँग प्रतियोगिताका लागि रहेको र विभिन्न शीर्षकमा ५३ करोड ८२ लाख ४८ हजार ४ सय ६० रुपैयाँ खर्च भएको जनाएको छ ।
प्रतियोगिता गण्डकी प्रदेशमा असोज २८ गतेदेखि ३ गतेसम्म सञ्चालन भएको थियो । कुल ३ सय ९६ स्वर्णका लागि भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टिम, एनआरएनए गरि ६ हजार १ सय २७ खेलाडी सहभागी भएका थिए ।
प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् राखेपले मुख्य आयोजकको रुपमा सञ्चालन गरेको थियो ।